साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र क्षेप्यास्त्र नष्ट


साउदी अरब ।  यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचमै रोकेर नष्ट गरेको जनाएको छ ।

गठबन्धनका प्रवक्ता तुर्की अल–मालिकीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत छुट्टाछुट्टै वक्तव्य जारी गर्दै उक्त जानकारी दिएका हुन् । उनका अनुसार साउदी अरबको पूर्वी प्रान्तमा ड्रोनलाई रोकिएको थियो भने हुथी विद्रोहीले देशको दक्षिणपश्चिमी क्षेत्रस्थित खमिस मुशैततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।

साउदी अरबका दुई विमानस्थललाई आइतबार लक्षित गरी आक्रमण गरिएपछि सीमापार तनाव थप चुलिएको छ । साउदी उड्डयन अधिकारीहरूका अनुसार रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो भने अन्य ११ जना घाइते भएका थिए ।

त्यसैगरी, दमामनजिकै रहेको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको जनाइएको छ । यसअघि शनिबार किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हुथी आक्रमणमा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको साउदी अधिकारीहरूले बताएका थिए ।

लगातार भइरहेका आक्रमण र प्रत्याक्रमणका घटनाले साउदी अरब र यमनका हुथी विद्रोहीबिचको तनाव थप बढाएको छ । एजेन्सी