काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताएका छन्। नेपालको ऐतिहासिक अस्तित्व र स्वतन्त्रता नै कूटनीतिक सफलताको महत्त्वपूर्ण उदाहरण भएको उनको तर्क छ।
सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र भावी प्राथमिकता प्रस्तुत गर्दै पाण्डेले दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहेका बेला पनि नेपाल स्वतन्त्र र अविभाज्य रहन सफल भएको उल्लेख गरे। उनले यसलाई नेपालको कूटनीतिक इतिहासको उपलब्धिका रूपमा व्याख्या गरे।
समितिका सदस्यहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले विकास, पूर्वाधार निर्माण र राजनीतिक स्थिरताका क्षेत्रमा कमजोरी रहे पनि नेपालको सार्वभौमिकता संरक्षण गर्ने कूटनीति असफल नभएको स्पष्ट पारे। नेपालजस्तो सानो मुलुकका लागि राष्ट्रिय नक्सा, झण्डा र पहिचानका विषय संवेदनशील हुने भन्दै उनले यस्ता मुद्दामा कूटनीतिक वार्ता गर्दा पर्याप्त तयारी र परिपक्वता आवश्यक रहेको बताए।
त्यसैगरी, बीपी कोइराला भारत–नेपाल फाउन्डेसन (बीपीकेएफ) को प्रभावकारिता बढाउनुपर्नेमा उनले जोड दिए। विगतमा नेपाल सरकारबाट पर्याप्त बजेट विनियोजन नहुँदा फाउन्डेसनमार्फत नेपाली पक्षका कार्यक्रमले भारतीय पक्षका कार्यक्रमको तुलनामा कम प्राथमिकता पाएको उनले स्वीकार गरे। फाउन्डेसनलाई पुनः सक्रिय बनाउँदै राष्ट्रिय प्राथमिकताअनुसार यसका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नयाँ दिल्लीस्थित नेपाली दूतावासको कार्यशैली र व्यवस्थापन सुधार गर्ने योजना पनि पाण्डेले प्रस्तुत गरे। दूतावासको आधिकारिक वेबसाइटमा पूर्वराजदूतहरूको नामावलीसमेत समावेश नहुनुलाई उनले प्रशासनिक कमजोरीका रूपमा औँल्याए। अतिरिक्त बजेट आवश्यक नपर्ने सुधारका काम तत्काल अघि बढाउने उनको भनाइ थियो।
आफ्नो अनुभव, ज्ञान, व्यक्तिगत सम्बन्ध र कूटनीतिक सञ्जालको प्रभावकारी उपयोग गर्दै दूतावासको कार्यक्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने उनले बताए ।




प्रतिक्रिया