काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुले भोग्नुपर्ने समस्या कम गर्न सरकारले बेनीघाट–फिस्लिङ वैकल्पिक सडक करिडोरको स्तरोन्नति अघि बढाएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार वर्षायाममा वा अन्य प्राकृतिक विपद्का बेला कृष्णभीर क्षेत्रमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट साना सवारीसाधन सञ्चालन गर्न सकियोस् भन्ने उद्देश्यले सडक निर्माणलाई तीव्रता दिइएको हो।
सडक विभागले उक्त करिडोरको करिब दुई किलोमिटर खण्डमा दुई लेनको नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ। यसअघि प्रदेश सरकार र स्थानीय तहको पहलमा सो सडकमा कालोपत्रे तथा अन्य पूर्वाधार निर्माणका काम हुँदै आएका थिए।
प्रदेश र स्थानीय तहबाट भइरहेका कामलाई थप प्रभावकारी बनाउँदै सडकको चौडाइ विस्तार र स्तरोन्नति गर्ने उद्देश्यले सडक विभागले थप दुई लेनको ट्रयाक निर्माण अघि बढाएको मन्त्रालयले जनाएको छ।
पृथ्वी राजमार्गलाई देशको प्रमुख यातायात मार्गका रूपमा लिइन्छ। कृष्णभीर क्षेत्रमा पहिरो खस्दा विगतमा पनि राजमार्ग अवरुद्ध हुने र यात्रु तथा मालवाहक सवारीसाधनले लामो समयसम्म समस्या भोग्नुपर्ने अवस्था देखिँदै आएको छ।
यस्तो जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक सडकलाई व्यवस्थित बनाउने काम अघि बढाइएको हो। सडक स्तरोन्नति सम्पन्न भएपछि कृष्णभीरमा विपद्का कारण राजमार्ग अवरुद्ध हुँदा कम्तीमा साना सवारीसाधनलाई वैकल्पिक मार्गबाट आवतजावत गराउन सहज हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया