देशको समग्र विकासका लागि शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक : विद्यादेवी भण्डारी


काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समग्र विकासका लागि शिक्षा प्रणालीमा आमूल सुधार आवश्यक रहेको बताएकी छन्। नागरिकलाई विवेकशील, सिर्जनशील, नैतिकवान् र राज्यप्रति उत्तरदायी बनाउने गरी शिक्षाको उद्देश्य र स्वरूप परिवर्तन गर्नुपर्नेमा उनले जोड दिइन्।

काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षा केवल परीक्षामा प्राप्त अंक र प्रमाणपत्र हासिल गर्ने माध्यममा सीमित हुन नहुने धारणा व्यक्त गरिन्।

उनका अनुसार शिक्षाले व्यक्तिलाई व्यावहारिक जीवनका लागि आवश्यक ज्ञान, सीप, दृष्टिकोण र जिम्मेवारीबोध प्रदान गर्न सक्नुपर्छ। विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम, शिक्षण पद्धति र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, आलोचनात्मक चिन्तन र नागरिक दायित्वसँग जोड्न आवश्यक रहेको उनले बताइन्।

देश विकासको जिम्मेवारी सरकार, राजनीतिक दल र नीतिनिर्मातामा मात्र सीमित नरहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले समाजका हरेक पक्ष र प्रत्येक नागरिकको समान भूमिका रहने बताइन्। नागरिकको श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारीलाई राष्ट्र निर्माणका महत्त्वपूर्ण आधारका रूपमा उनले व्याख्या गरिन्।

नागरिक शिक्षाले लोकतान्त्रिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। त्यसैले नागरिकमा लोकतान्त्रिक मूल्य, अधिकार र कर्तव्यप्रतिको चेतना अभिवृद्धि गर्न राज्यले नागरिक शिक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा उनले जोड दिइन्।