काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउनुका साथै कन्सुलर सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
सोमबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो धारणा राख्दै थापाले नेपालको राष्ट्रिय हितको संरक्षण, कूटनीतिक पहुँच विस्तार र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका हुन्।
अमेरिकामा रहेका नेपाली नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन कन्सुलर सेवाको व्यवस्थापनमा नवीन उपाय अपनाउने योजना उनले सुनाए। सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै परिस्थितिअनुसार बिदाका दिनमा समेत सेवा सञ्चालन गर्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयसँग समन्वय गर्ने उनको भनाइ थियो।
अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदाय र त्यहाँ विकसित नेपाली डायस्पोराको सञ्जाललाई नेपालको आर्थिक विकास, सांस्कृतिक प्रवर्द्धन तथा सम्पदाको संरक्षण र फिर्तीका लागि उपयोग गर्ने योजना पनि उनले प्रस्तुत गरे।
सुरक्षा सहकार्यका विषयमा थापाले अमेरिकाबाट प्राप्त हुँदै आएको सहयोगलाई नेपालको आवश्यकता र प्राथमिकताअनुसार परिचालन गर्नुपर्ने बताए। विशेषगरी प्रविधि र साइबर सुरक्षासँग सम्बन्धित चुनौती समाधान गर्न प्रविधि हस्तान्तरणका लागि पहल गर्ने उनको प्रतिबद्धता थियो।
‘नेपाल सरकारको निर्देशन र मार्गनिर्देशनभित्र रहेर शान्ति स्थापना र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा अमेरिकी सहयोगलाई अझ प्रभावकारी बनाउन सक्रिय हुनेछु,’ थापाले भने। नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्दै व्यक्तिगत वा संस्थागत सम्बन्धले आफ्नो कूटनीतिक जिम्मेवारीमा कुनै असर पार्न नदिने उनले स्पष्ट पारे।
अमेरिकामा अध्ययन तथा काम गर्ने क्रममा स्थापित व्यक्तिगत सम्पर्कलाई समेत कूटनीतिक सम्बन्ध विस्तारमा उपयोग गर्ने उनले बताए। त्यस्ता सम्पर्कमार्फत दुई देशबीच उच्चस्तरीय भ्रमणको वातावरण निर्माण गर्न र आपसी सहकार्यका नयाँ अवसर पहिचान गर्न सकिने उनको विश्वास छ।
कूटनीतिलाई संवादमार्फत अर्को पक्षलाई आफ्नो दृष्टिकोणमा सहमत गराउने कला भन्दै थापाले आफ्नो अनुभव, सम्पर्क र कूटनीतिक सञ्जालको अधिकतम उपयोग गरी नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया