खगेन्द्र सुनारलाई सुधनले भने: ‘नैतिकताको राजनीति गर्नेले पदको मोह त्याग्नुपर्छ’


काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई सांसद पदबाट मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न सुझाव दिएका छन्।

सांसद सुनारसँग सम्बन्धित विवादास्पद अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै किरातीले सार्वजनिक पदमा रहने व्यक्तिले नागरिकको भरोसा र नैतिकताको सम्मान गर्नुपर्ने बताएका हुन्।

किरातीले सांसद पदलाई केवल ओहोदा वा सत्ताको साधनका रूपमा मात्र नभई नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकका रूपमा व्याख्या गरेका छन्।

उनले अनुहार अर्थात् पात्र परिवर्तन हुँदैमा समाज परिवर्तन नहुने उल्लेख गर्दै त्यसका लागि सोच र प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताएका छन्।

‘उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठिसक्यो,’ किरातीले लेखेका छन्, ‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाऊ।’