काठमाडौं । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ। दुर्घटनामा डुंगामा सवार सात जनाको उद्धार गरिएको बीबीसीले जनाएको छ।
स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन करिब २० जना सानो डुंगामा सवार थिए।
वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ।
दुर्घटनामा परेका सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको बताइएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
यसैगरी, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँका दरले अनुग्रह सहायता दिने घोषणा गरेका छन्।




प्रतिक्रिया