काठमाडौँ । सरकारले विद्युत् महसुलमा थप गरेको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो दबाबमूलक अभियानलाई पुनः तीव्रता दिएको छ। पार्टी अध्यक्ष कुलमान घिसिङको प्रत्यक्ष नेतृत्वमा विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत भ्याट हटाउन दबाब दिने उद्देश्यका साथ देशभर हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ।
गत भदौ १ गतेदेखि औपचारिक रूपमा थालिएको उक्त हस्ताक्षर अभियान रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण केही समयका लागि स्थगित भएको थियो। बाढीपहिरोपछिको उद्धार तथा राहत कार्यमा जुट्नुपरेकाले रोकिएको सो कार्यक्रमलाई स्थिति सामान्य बन्दै गएपछि पुनः निरन्तरता दिइएको पार्टीले जनाएको छ।
अभियानलाई देशव्यापी रूपमा सशक्त बनाउन उज्यालो नेपाल पार्टीले आफ्ना सम्पूर्ण मातहतका कमिटीहरूलाई क्रियाशील बनाएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रदेश, जिल्ला, पालिका तथा वडा तहका सबै नेता तथा कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा सर्वसाधारणको सहभागितासहित तत्काल हस्ताक्षर अभियान पुनः सुरु गर्न कडा निर्देशन जारी गरेको छ।
सरकारले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लगाउने निर्णय गरेदेखि नै अध्यक्ष घिसिङले यसको तीव्र विरोध गर्दै आएका छन्।




प्रतिक्रिया