घरायसी कामले व्यस्त जापानी प्रधानमन्त्री


टोकियो, २८ असोज । जापानकी प्रधानमन्त्री साने ताकाइचीले घरायसी काम समेत गर्नुपर्दा आफ्ना पुरुष पूर्ववर्तीहरूको तुलनामा दैनिक तीनदेखि चार घण्टा बढी समय खर्च हुने बताएकी छन्। जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले बुधबार संसदमा बिहान नुहाउने, खाजा बनाउने, भाँडा माझ्ने र शृङ्गार गर्ने जस्ता कामले आफ्नो समय व्यस्त हुने बताइन्।

काममा अत्यधिक समय दिने उनी रातमा दुईदेखि चार घण्टा मात्र सुत्ने र कहिलेकाहीँ बिहान ३ बजे नै कर्मचारी बैठक राख्ने गर्छिन्। जापानको राजनीतिमा महिलाको प्रतिनिधित्व न्यून छ। गत फेब्रुअरीमा भएको तल्लो सदनको निर्वाचनमा ४६५ मध्ये ६८ सिटमा मात्र महिला निर्वाचित भएका थिए। ताकाइचीको समय व्यवस्थापनबारे चर्चा भइरहेका बेला सत्तारूढ गठबन्धनका सांसदले प्रधानमन्त्रीले संसदमा लामो समय बिताउनु पर्ने अवस्थाबारे प्रश्न गरेका थिए।

जापान इनोभेसन पार्टीका सांसद फुमिताके फुजिताका अनुसार सन् २०२२ मा जापानका प्रधानमन्त्रीले ७२ दिन संसदीय सत्रमा भाग लिएका थिए भने बेलायत र जर्मनीका प्रधानमन्त्रीले क्रमशः ५० र १३ दिन बिताएका थिए। उनले जापानी प्रधानमन्त्री लामो समय संसदमा सीमित हुनुपर्ने अवस्था अन्तर्राष्ट्रिय अभ्यासअनुरूप नभएको बताए।

ताकाइचीले संसदीय प्रश्नसँग सम्बन्धित कागजात घरमा ल्याएर बिहानसम्म काम गर्ने गरेको बताएकी छन्। “घरमा ल्याएका कागजातका थुप्रा मध्यरातमा पढ्न मलाई रमाइलो लाग्छ”, उनले बुधबार भनिन्। तर देशको भविष्य र आफ्नो विस्तृत दृष्टिकोणबारे स्पष्ट मनले सोच्न समय निकाल्न कठिन भइरहेको उनले बताइन्। रासस