बालेन सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्न सकेन– धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान सरकारले दशैँका बेला पनि महँगी र कालोबजारी नियन्त्रण गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले कालोबजारी, बिचौलिया र भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने स्पष्ट पारे ।

‘दशैँ जस्तो ठूलो चाडबाडका बेला पनि जनता महँगी र कालोबजारीबाट पीडित छन्,’ धमलाले भने, ‘सरकारले बिचौलिया र कालोबजारी गर्नेहरूलाई नियन्त्रणमा लिन कडा कदम चाल्नुपर्छ । सुशासन र रोजगारी आजको मुख्य आवश्यकता हो ।’

अध्यक्ष धमलाले बाढीपीडित र सुकुमबासीहरूलाई दशैँ मनाउन सकस भइरहेको भन्दै उनीहरूको दुःखमा साथ दिन आफू तीन दिन उनीहरूकै साथमा रहने बताए । उनले पीडित जनताका समस्या सुनेर समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।

अर्थतन्त्रको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धमलाले भने, ‘देशमा पर्यटक घटेका छन्, अर्थतन्त्र कमजोर बनेको छ । यसलाई सुधार गर्नु सरकार र नागरिक सबैको साझा दायित्व हो ।’
विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै अध्यक्ष धमलाले पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, सुरुङ मार्ग, वैकल्पिक राजमार्ग तथा काठमाडौँ–तराई फास्ट ट्र्याक छिटो सम्पन्न गर्नुपर्ने बताए ।

यसैबीच, आगामी मङ्सिर पहिलो साता प्रधानमन्त्री बालेन शाहको हुने भनिएको तीन दिने भारत भ्रमणतर्फ सङ्केत गर्दै धमलाले उक्त भ्रमणमा ठूला विकास आयोजनाहरूमा सम्झौता हुनुपर्ने र दुई देशबीचको प्रगाढ सम्बन्ध थप सुमधुर हुनुपर्नेमा जोड दिए ।

नेपाली पत्रकारिता क्षेत्रको प्रशंसा गर्दै धमलाले भने, ‘समस्या र सङ्कटमा भए पनि नेपाली पत्रकारिताले आफ्नो व्यावसायिक धर्म निर्वाह गरिरहेको छ । भ्रष्टाचारका काण्डहरू बाहिर ल्याउने पत्रकारहरूप्रति म सम्मान व्यक्त गर्दछु ।’
उनले देशविदेशमा रहेका सम्पूर्ण नेपालीका साथै सञ्चारकर्मीहरूलाई दशैँ, तिहार तथा छठ पर्वको शुभकामनासमेत व्यक्त गरे ।

साक्षात्कार कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं उपसभापति मधु आचार्यका साथै राजनीतिक विश्लेषकद्वय प्रा. डा. सुरेन्द्र केसी र हेमन्त सेढाईंले पनि वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Skip This