काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादशैंको प्रमुख दिन विजयादशमीका अवसरमा आज घरघरमा मान्यजनबाट रातो टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा रातो टीका र सुख, शान्ति तथा समृद्धिको प्रतीक जमरा ग्रहण गर्ने परम्पराअनुसार दशैं मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ। विशेष साइतमा टीका लगाउन चाहनेहरूका लागि भने बिहान १० बजेर २६ मिनेटको समय उत्तम निर्धारण गरिएको छ।
टीका लगाउँदा पूर्व र पश्चिम दिशाको महत्त्व
दशैंको टीका लगाउने क्रममा दिशासम्बन्धी धार्मिक मान्यतालाई पनि ध्यान दिइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका थाप्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्ने जनाएको छ।
धार्मिक परम्परामा दक्षिण दिशालाई पितृकर्मसँग जोडेर हेर्ने गरिएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने प्रचलन छैन। यद्यपि, कतिपयले चन्द्रमाको अवस्थालाई आधार मानेर टीका लगाउने र थाप्ने दिशा तय गर्ने चलन पनि अपनाउने गरेका छन्।
कलशको जलबाट सुरु हुन्छ टीकाको विधि
देवी विसर्जनपछि दशैंको टीका लगाउने प्रक्रिया सुरु हुन्छ। परम्पराअनुसार सबैभन्दा पहिले कुलदेवता र पितृदेवताका नाममा टीका चढाइन्छ। कतिपय घरमा घरको मूलढोकामाथि टीका लगाउने चलनसमेत रहेको छ।
दुर्गा पूजा गर्दा स्थापना गरिएको कलशको जललाई धार्मिक दृष्टिले पवित्र मानिन्छ। देवी विसर्जनपछि उक्त जलबाट अभिषेक गरी इष्टदेवता र कुलदेवताको स्मरण गर्दै जमरा काट्ने परम्परा छ। त्यसपछि घरको मूलढोकामा टीका लगाएर मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने गरिन्छ।
घरमा गुरु वा पुरोहितबाट पूजा स्थापना गरिएको भए उहाँहरूबाट टीका लगाउने चलन छ। अन्यथा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहिआएको छ।
उत्तम साइत छुटे पनि टीका लगाउन बाधा छैन
दशैंको टीका लगाउन शुभ साइतको प्रतीक्षा गर्नेहरूका लागि बिहान १०:२६ बजेको समय उत्तम मानिएको छ। तर यात्रा गर्नुपर्ने, समयको अभाव हुने वा अन्य व्यावहारिक कारणले उक्त समयमा टीका लगाउन नसक्नेहरूले बिहान घाम झुल्किएपछि पनि टीका ग्रहण गर्न सक्ने धार्मिक जानकारहरू बताउँछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार दशैंको दिन टीका लगाउन तोकिएको साइत छुट्दैमा चिन्ता लिनुपर्ने अवस्था हुँदैन। बिहान विधिपूर्वक मान्यजनबाट टीका ग्रहण गरेपछि टाढा रहेका आफन्त तथा ज्येष्ठ सदस्यकहाँ गएर पनि टीका लगाउन सकिन्छ।
विदेशबाट ढिलो गरी नेपाल आइपुग्ने वा अन्य कारणले निर्धारित समयमा टीका लगाउन नसक्ने व्यक्तिहरूले समेत अनुकूल समयमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्न सक्ने बताइएको छ।
यसरी बडादशैंमा शुभ साइतको महत्त्वसँगै पारिवारिक एकता, आपसी सद्भाव र मान्यजनबाट आशीर्वाद लिने परम्परालाई विशेष महत्त्व दिइन्छ।




प्रतिक्रिया