आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा भोलि विरोधसभा गर्ने




काठमाडौं, कात्तिक ८। राष्ट्रिय जेन्जि नागरिक अभियानले बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध विरोधसभा गर्ने भएको छ।


अभियानको आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै कात्तिक ९ गते सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोधसभा आयोजना गर्ने जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको अभियानले जनाएको छ।

नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै अभियानले उक्त विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गरेको छ।


विरोधसभामा सहभागी हुन अभियानले जेन्जि युवा, बौद्ध धर्मावलम्बी, नागरिक समाज, सरोकारवाला तथा पत्रकारहरूलाई आग्रह गरेको छ।