काठमाडौं । काठमाडौंको कलंकीस्थित नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
आइतबार साँझ पक्राउ परेका उनीहरूको विवरण प्रहरीले सोमबार सार्वजनिक गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दसैं बिदाका बेला डेरामा कोही नभएको मौका छोपेर आरोपीहरूले सुन र नगद चोरी गरेका थिए।
अनुसन्धानका क्रममा थपलियाको डेराबाट आठ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत घर भएका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु कुमार भनिने राज पोदार, २३ वर्षीय राजेन्द्र पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
थपलिया नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधित्व गर्ने सांसद हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया