काठमाडौं । जेन्जी अभियन्ता अजय सोडारीले आनी छोइङ डोल्मालाई आफूमाथि उठेका प्रश्नको तथ्यपूर्ण जवाफ दिन र निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेका छन्।
आनी छोइङले जारी गरेको भिडियो सन्देशमा प्रश्न उठाउने नागरिकलाई ‘मासुभात खाएर विरोध गर्ने’ र ‘परिचालित पात्र’ का रूपमा चित्रण गरिएको भन्दै सोडारीले त्यसप्रति आपत्ति जनाएका हुन्। उनले प्रश्न गर्ने नागरिकलाई आरोप लगाउनुको सट्टा तथ्य, तर्क र प्रमाणका आधारमा जवाफ दिनुपर्ने बताएका छन्।
सोडारीले आनी छोइङको नागरिकताको वैधता, सम्पत्तिको स्रोत, नागरिकता जारी प्रक्रियासम्बन्धी उजुरी तथा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिलगायतका विषयमा प्रश्न उठाएका छन्। उनले यी विषयमा निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेका छन्।
‘बुद्धले प्रश्न, आक्रोश र असहमतिलाई घृणाले होइन, मैत्री, करुणा र सम्यक वाणीले सम्बोधन गर्न सिकाउनुभएको छ,’ सोडारीले आफ्नो अभिव्यक्तिमा भनेका छन्, ‘प्रश्न उठिसकेपछि निष्पक्ष छानबिन र तथ्यमा आधारित जवाफ अनिवार्य हुन्छ।’
उनले आनी छोइङलाई पद अस्वीकार गरेर आफूमाथि उठेका प्रश्नको निरूपणका लागि राज्यका निकायलाई सघाउन आग्रह गरेका छन्। पद र नियुक्तिभन्दा नागरिकको प्रश्न तथा जवाफदेहिता ठूलो हुने उनको भनाइ छ।
सोडारीले आफूहरू जेन्जी आन्दोलनदेखि नै सुशासन, राष्ट्रियता र जवाफदेहिताको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै कसैबाट परिचालित नभई नागरिकको अधिकारका पक्षमा बोलिरहेको दाबी गरेका छन्।




प्रतिक्रिया