हुम्लामा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा, कर्णाली युथले जित्यो उपाधि


हुम्ला। हुम्लाको तीन हजार ६०० मिटर उचाइमा सञ्चालन गरिएको जिल्लास्तरीय लेकधिङ्घा हाइअल्टिच्युड भलिबल प्रतियोगिताको उपाधि सिमकोट गाउँपालिका–७ को कर्णाली युथ क्लबले जितेको छ।

फाइनल खेलमा सेकेन्ड स्टार युथ क्लबलाई पराजित गर्दै कर्णाली युथ क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो। हुम्ला जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा कर्णाली युथ क्लब प्रथम हुँदा सेकेन्ड स्टार युथ क्लब दोस्रो र नाम्खा गाउँपालिका–१ को हेक्पा आइस तेस्रो भएको आयोजक कमिटीका निमा लामाले बताए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः एक लाख, ७० हजार र ४० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। विजेता टोलीलाई नगद पुरस्कारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको उनले जानकारी दिए।

नाम्खा गाउँपालिकाको आर्थिक सहयोग तथा लेकधिङ्घा हाईअल्टिच्युड आयोजक समितिको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। उच्च हिमाली क्षेत्रमा भलिबल प्रतियोगिता आयोजना गरिनुले हुम्लामा खेलकुदको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।