बेलायतको ईयू पुनरागमन तत्काल असम्भव


काठमाडाैँ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले वर्तमान संसदको कार्यकालमा बेलायत युरोपेली सङ्घ (ईयू) मा पुनः आबद्ध हुने सम्भावना नरहेको बताएका छन्।

बेलायती सञ्चारमाध्यममा सोमबार प्रसारित अन्तर्वार्तामा आफूले जीवनकालमै बेलायत ईयूमा पुनः आबद्ध भएको हेर्न चाहेको उहाँले बताउनुभयो । तर, वर्तमान संसदको कार्यकालमा पुनः आबद्ध हुने प्रस्ताव भने आफूले अघि नसारेको उनको भनाइ थियो

“अहिलेको परिस्थितिमा हामी त्यस्तो अवस्थाबाट धेरै टाढा छौँ,” उनले भने।

बर्नहमले ब्रेक्जिटपछिको एक दशकको अनुभवले त्यसबेला गरिएका अपेक्षाअनुसार परिणाम दिन नसकेको बताए। उनका अनुसार ब्रेक्जिटले बेलायतको अर्थतन्त्र र आप्रवासन नियन्त्रण गर्ने क्षमतालाई कमजोर बनाएको छ । ब्रेक्जिटपछि नै साना डुङ्गामार्फत बेलायत प्रवेश गर्ने अवैध आप्रवासीको समस्या उत्पन्न भएको उनले बताए।

सन् २०१६ जुनमा भएको जनमतसङ्ग्रहमा करिब ५२ प्रतिशत मतदाताले ईयूबाट बाहिरिने पक्षमा मतदान गरेका थिए । सन् २०२० मा बेलायत औपचारिक रूपमा ईयूबाट बाहिरिएको थियो। सन् २०२६ मा ब्रेक्जिट जनमतसङ्ग्रह भएको एक दशक पूरा हुँदैछ।

सन् २०२४ को आमनिर्वाचनमा बेलायतको लेबर पार्टीले संसद्को तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त गरेको थियो । समयअगावै निर्वाचन नभएमा वर्तमान संसदको कार्यकाल पाँच वर्षको हुनेछ। रासस