गोरखा, १० कात्तिक । हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५ गतेको बाढीले गोरखाको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको स्थानमा स्थानीयको सक्रियतामा प्रभावित क्षेत्रमा पूर्वाधार निर्माणलगायतका कामबाट जनजीवन सामान्य बनाउने कार्य तीव्ररुपमा भइरहेको छ ।
स्थानीयवासी र गाउँपालिकाको सक्रियतामा बाढी प्रभावित क्षेत्रमा अहिले पनि अस्थायी पुल निर्माण तथा बाटो मर्मतको काम भइरहेको छ । त्यस्तै स्थानीयकै सक्रियातामा १५ दिनदेखि बन्द रहेको चुम उपत्यका सडक आइतबारदेखि अस्थायी रुपमा खुलेको छ ।
स्यार खोलामा चारवटा काठे पुल निर्माण गरी चुम उपत्यकामा मानिस तथा खच्चड आवतजावत गर्न सक्ने बनाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । बाढीले चुमनुब्री गाउँपालिका–६ स्थित सर्दीभिरको क्यान्टिभर पुल बगाउँदा चुम उपत्यका आवतजावत ठप्प बनेको थियो ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्राप्त विवरणअनुसार बाढीले चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाको एकसय आठवटा घर–गोठमा क्षति पुगेको छ । यस्तै, छ वटा झोलुङ्गे पुल, दुईवटा मोटरेबल पुल, एउटा बेलिब्रिज, यारु र सर्दीमा रहेका दुईवटा क्यान्टिलिभर पुल बाढीले बगाएको प्रशासन कार्यालयको विवरणमा उल्लेख छ । घटनाको १६ दिन बित्दा प्रभावित क्षेत्रका बासिन्दा बाढीबाट सिर्जित घाउ निको पार्नमा चाडपर्व नभनी स्थानीय अहोरात्र खटिएका छन् ।
“चुम उपत्यका जाने अर्को वैकल्पिक बाटो पनि थिएन त्यसैले स्थानीयहरुको सक्रियतामा बाढी गएको भोलिपल्टदेखि नै बाटो सफा गर्ने र काठेपुल बनाउने काम सुरु भएको थियो”, उनले भने, “लगातार १५ दिनसम्म स्थानीय बासिन्दा जुटेर स्यार खोलामा चारवटा काठे पुल बनाएपछि चुमउपत्यका जाने बाटो खुलेको हो ।”
गाउँपालिकाले सेना र गोरखा सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक सञ्चालनमा ल्याउने कामसमेत गरिरहेको उनले बताएका छन् । बूढीगण्डकीको बाढीले क्षतिग्रस्त बेनिघाट, आरुघाट, लार्के सडक कालोभिरसम्म सुचारु हुने अवस्थामा पुगेको छ । गोरखा सडक योजना कार्यालयले लगातार १५ दिन काम गरेर कालोभिरसम्म सुचारु गर्न लागेको कार्यालयका सूचना अधिकारी आशिक रिजालले जानकारी दिए ।
उनका अनुसार आर्खेतबाट दोभानसम्मको खण्ड सडक योजना कार्यालयले र दोभानबाट सल्लेरीसम्मको खण्ड नेपाली सेनाले खुलाउनका लागि काम गरिरहेका छन् । गोरखा सडक योजना कार्यालयले बाढीको भोलिपल्टदेखि नै सडक खुलाउने काम गर्न थालेको थियो । नेपाली सेनाले भने चुमनुब्रीको सल्लेरीबाट जगत बगरसम्म सडक खुलाउने प्रयास गरिरहेको छ । सो खण्डमा सडक मर्मतको काम जटिल रहेको सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।
डेढ किलोमिटर खण्डमा बाढीले थुपारेको पाँच फिटभन्दा गहिरो लेदो पन्छ्याउन अझै केही दिन लाग्ने कार्यदलका प्रमुख सेनानी रामसागर यादवले जानकारी दिए । मान्छे, खच्चड र मोटरसाइकल भने केही दिनभित्र पाङसिङसम्म पुग्न सक्ने उनले बताए । चुमनुब्री र धार्चे गाउँपालिकासँग समन्वय र सहकार्य गरी काम गरिएको सडक योजना कार्यालय र नेपाली सेनाले जनाएको छ ।
यसअघि धार्चे र चुमनुब्री गाउँपालिकाले स्थानीयवासीलाई खटाएर मान्छे हिँड्न सक्ने पैदलबाटो खुलाइसकेको छ । उङ्गिलुङ पहिरोपछि आएको स्यारखोलाको बाढीले बगाएको बाटो मर्मत गरी गाउँ जोड्ने बाटो बनाउन स्थानीयबासी रातदिन खटेका छन् ।
बाढीले धार्चे गाउँपालिका–३ दोभानबाट वडा नं १ हुल्चुक जोड्ने बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि स्थानीयहरुले त्यहाँ काठे पुल निर्माण गरेका छन् । सोमबार मात्र त्यहाँ काठे पुल निर्माणको काम सम्पन्न गरी आवतजावत सुचारु भएको हो ।
बाढी गएको केही दिनभित्रै धार्चेका स्थानीयहरुले वडा नं ३ खोर्लाबेशीदेखि तातोपानीसम्म जाने बाटोसमेत निर्माण गरेका थिए । खोर्लावेशीदेखि केरौँजासम्म बिजुलीको तार टाँगेर खाद्यान्न ढुवानी गर्ने काम समेत भएको थियो ।
स्थानीय युवाको सक्रियतामा खोलोबँेसीदेखि जगतसम्मको सडकमा बाढीले ल्याएको लेदो तथा गेग्रान हटाएर मान्छे र खच्चड हिँड्ने सक्ने बाटो समेत तयार भएको छ । तत्कालको समस्या टार्न त्यस क्षेत्रमा ड्रोनमार्फत खाद्यान्न ढुवानी गर्ने काम समेत भएको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए । यस्तै, बाढीले बिग्रिएको सिर्दिबास उहिया साना जलविद्युत आयोजना चारदिनमा नै सुचारु भयो ।
बाढीले बगाएको आरुघाटको पुल पनि छ दिनमा मर्मत सम्पन्न भएको थियो । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्त रुपमा मर्मतसम्भार गरेको हो । सोमबारदेखि त्यहाँ टिपरलगायत ठूला सवारीसाधनसमेत आवतजावत भएको छ ।




प्रतिक्रिया