एनपीएल तेस्रो संस्करण: काठमाडौं गोर्खाज र वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीबीच सहकार्य गर्ने सम्झौता


​काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी र काठमाडौं गोर्खाजबीच सहकार्य गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार काठमाडौं गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको लोगो राखिनेछ।

​काठमाडौंको सोल्टीमोडस्थित होटल इम्पेरियलमा आयोजित एक कार्यक्रमका बीच दुवै संस्थाले यस सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का सचिव आशिक कार्की र काठमाडौं गोर्खाजका तर्फबाट कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि वेद इन्टरनेसनलका सीईओ आशिक कार्कीले क्रिकेटप्रतिको विशेष रुचि र लगावका कारण काठमाडौं गोर्खाजसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

 काठमाडौंमै जन्मिएर हुर्किएका कार्कीले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रले पनि आ-आफ्नो तर्फबाट योगदान पुर्याउनुपर्ने धारणा राखे। यो सहकार्यलाई एउटा टोलीसँग जोडिने विषयमा मात्र सीमित नराखी नेपाली क्रिकेटप्रतिको समर्थनका रूपमा लिएको उनलेे बताए ।

 उनले एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण टिमलाई सफलताको शुभकामना दिए।

​त्यसैगरी, काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वार सिरोहियाले टोलीमाथि विश्वास गर्दै सहकार्यका लागि हात बढाएकोमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीप्रति आभार व्यक्त गरे। खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता र सहयोग अत्यन्तै महत्त्वपूर्ण हुने जोड दिँदै उनले यसप्रकारको सहकार्यले टोलीलाई थप हौसला र प्रेरणा प्रदान गर्ने बताए।

​काठमाडौं गोर्खाजमा ऊर्जा, उत्साह र केही गरेर देखाउने दृढता रहेको उल्लेख गर्दै सिरोहियाले समर्थकको विश्वास र साझेदार संस्थाहरूको सहयोगलाई आत्मसात् गर्दै मैदानमा उत्कृष्ट प्रदर्शन गर्न टोली प्रतिबद्ध रहेको बताएका छन्।

​दुवै पक्षले यस सहकार्यले एनपीएलको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई ऊर्जा थप्नुका साथै समग्र नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।