कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह


काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षा तथा हिमाली भेगमा हिमपात र हिमपहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ ।

विभागले कात्तिक ११ देखि १५ गतेसम्म मौसम प्रतिकूल रहने सम्भावना रहेकाले पदयात्रा र हिमाल आरोहणमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । यसले बाढी, पहिरो र भूक्षयको जोखिम बढाउनुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोको खतरा निम्त्याउन सक्ने अनुमान गरिएको छ ।

मौसममा आउने प्रतिकूलताले पदयात्रा र हिमाल आरोहण जोखिमपूर्ण बन्न सक्ने भएकाले विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र गन्तव्यमा पुगिसकेका पर्यटक तथा पर्वतारोहीलाई सतर्क रहन आग्रह गरेको छ । साथै, सम्बन्धित सरकारी निकायबाट जारी हुने मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा हेरेर मात्र यात्रा योजना बनाउन पनि अनुरोध गरिएको छ ।

यसैबीच, उच्च हिमाली क्षेत्रमा देखिन सक्ने एक्युट माउन्टेन सिकनेस (उचाइका कारण हुने स्वास्थ्य समस्या) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा आवश्यक उपचार सेवा सुनिश्चित गर्न विभागले अपिल गरेको हो ।