स्वर्णिमको अभिव्यक्ति आत्मसमर्पणवादी, रास्वपाले तत्काल स्पष्टीकरण सोधेर पदबाट हटाउनुपर्छ– नेता पोखरेल


काठमाडौं । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारको कूटनीतिक तथा परराष्ट्र नीतिमाथि कडा आपत्ति जनाउँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिको विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने आफू हजारपटक भारतविरोधी बन्न तयार रहेको बताए।

‘भारतसँग हाम्रो असल कूटनीतिक, रोटीबेटी र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुनुपर्छ,’ पोखरेलले भने, ‘तर भारतका कारण हुने डुबान, सन् १९५० को असमान सन्धि र सीमा समस्याका विषयमा बोल्नुलाई भारतको विरोध मानिन्छ भने म हजारपटक भारतविरोधी हुन चाहन्छु।’

उनले आफू भारतविरोधी नभई पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारे। अर्थमन्त्री वाग्लेले दिल्ली पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै दिएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको उनको भनाइ थियो।

‘प्रधानमन्त्री बालेन शाहले सदनमै नेपालले पनि भारतको जमिन मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिनुभएको थियो,’ पोखरेलले भने, ‘दिल्लीमा पुगेर अर्थमन्त्री वाग्लेले भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो भन्नु त्यही प्रधानमन्त्रीकै अभिव्यक्तिको निरन्तरता हो।’

रास्वपाभित्र नीतिवेत्ताहरूको अभाव रहेको टिप्पणी गर्दै एमाले नेता पोखरेलले अर्थमन्त्री वाग्लेले जे बोल्यो, त्यही नै रास्वपाको नीति बन्ने गरेको दाबी गरे। रास्वपा साँच्चिकै राष्ट्रहितको पक्षमा उभिन चाहन्छ भने अर्थमन्त्री वाग्लेलाई तत्काल स्पष्टीकरण सोधेर पदबाट हटाउनुपर्ने माग उनले गरे। साथै, रास्वपाले राष्ट्रियताप्रतिको आफ्नो स्पष्ट धारणा अविलम्ब सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

यसअघि अर्थमन्त्री वाग्लेले २०८० सालमै सदनमा नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर राष्ट्रिय सार्वभौमिकतालाई कमजोर बनाउने खेल खेलेको आरोपसमेत पोखरेलले लगाए।

सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाउँदै उनले राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेर गलत कदम चालिएको बताए।

बजारमा महँगीले जनताको दैनिकी कष्टकर बनेको र सुकुम्बासी तथा विपन्न वर्गका समस्या सम्बोधन हुन नसकेको भन्दै उनले सरकारको आलोचना गरे।