भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद


रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा बल र प्रहरीले बरामद गरेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र आदापुर प्रहरीले संयुक्त गस्तीका क्रममा ती चौपाया नियन्त्रणमा लिएका हुन्।

भारतको बिहारस्थित मोतिहारीमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब २:१५ बजे सीमा क्षेत्रमा निगरानी गर्ने क्रममा चौपाया फेला पारेको हो।

एसएसबीका अनुसार प्राप्त सूचनाका आधारमा खटिएको टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिक नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा गाईगोरु बरामद गरेको थियो।

बरामद गरिएका चौपायामा तीनवटा गाई, चारवटा बाच्छा र तीनवटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ लैजाँदै गरिएको थियो।

रातको समयमा सुरक्षा निगरानी छल्दै चौपाया लैजाने प्रयास गरिए पनि सुरक्षा टोली पुगेपछि तस्करीमा संलग्न व्यक्तिहरू नेपालतर्फ भागेको एसएसबीले जनाएको छ। घटनामा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन्।

बरामद गरिएका सबै १० वटा चौपाया आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आदापुर प्रहरी थानामा बुझाइएको छ।