काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा उनले नवनिर्वाचित नेताहरूलाई शपथ गराएका हुन्।
शपथ ग्रहणसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटकको शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा सम्पन्न गरिएको हो। नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरणसँगै पदबहाली गराउने व्यवस्था पनि गरिएको उनले जानकारी दिए।
सभापति थापाले यसअघि नै असोज ३१ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका थिए। त्यसैले बिहीबार सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। उक्त निर्वाचनमा थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए।
महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए।
त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका थिए।




प्रतिक्रिया