काठमाडौँ । नेपालको वैदेशिक व्यापारको दायरा विस्तार भए पनि बढ्दो आयातका कारण व्यापार घाटा थप गहिरिँदै गएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) को तथ्यांकले निर्यातको वृद्धिदर आकर्षक देखिए पनि कुल व्यापारमा आयातको वर्चस्व घट्न नसक्दा मुलुकको शोधनान्तर र व्यापार सन्तुलनमा चाप परेको देखाउँछ।
समीक्ष अवधिमा नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर रु. ५ खर्ब ३२ अर्ब ४९ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा रु. ३ खर्ब ९५ अर्ब ३० करोडमा सीमित थियो।
आयातको भारी र निर्यातको सीमित दायरा
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि भई रु. ७ खर्ब ६१ अर्ब ७ करोड पुगेको छ। यस अवधिमा कुल आयात ३८.१८ प्रतिशतले बढेर रु. ६ खर्ब ४६ अर्ब ७८ करोड पुग्दा निर्यात भने ५७.०३ प्रतिशतको तीव्र दरले बढेर रु. १ खर्ब १४ अर्ब २९ करोड पुगेको छ।
प्रतिशतका आधारमा निर्यातको वृद्धिदर आशालाग्दो देखिए तापनि निर्यात हुने वस्तुको सीमित सूची र वास्तविक मूल्यको साँघुरो दायराका कारण त्यसले आयातको ठूलो हिस्सालाई धान्न सकेको छैन। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८४.९८ प्रतिशत छ भने निर्यातको योगदान १५.०२ प्रतिशत मात्र छ। फलस्वरूप, एक वर्षअघि ६.४३ प्रतिशत रहेको निर्यात-आयात अनुपात घटेर ५.६६ प्रतिशतमा झरेको छ।
छिमेकीसँग चुलिँदो घाटा
नेपालको वैदेशिक व्यापार घाटाको ठूलो हिस्सा परम्परागत व्यापारिक साझेदार भारतसँगै केन्द्रित छ। पहिलो तीन महिनामा भारतबाट रु. ३ खर्ब ६६ अर्ब ७८ करोड बराबरका वस्तु आयात हुँदा भारततर्फको निर्यात भने रु. ९५ अर्ब ५९ करोडमा खुम्चिएको छ। यसबाट भारतसँग मात्रै नेपालले रु. २ खर्ब ७१ अर्ब १९ करोडको व्यापार घाटा बेहोरेको छ।
त्यसैगरी, दोस्रो ठूलो व्यापारिक साझेदार चीनसँग नेपालको व्यापार घाटा रु. १ खर्ब ३३ अर्ब ६३ करोड पुगेको छ। मुख्यतया कच्चा भटमासको तेल आयातका कारण तेस्रो मुलुक अर्जेन्टिनासँग नेपालले रु. ३५ अर्ब ६३ करोडको घाटा व्यहोरेको छ।
के-के आए, के-के गए?
समीक्ष अवधिमा नेपालमा भित्रिने वस्तुहरूमा इन्धन र कृषिजन्य प्रशोधित सामग्रीको बाहुल्य छ। खनिज इन्धनतर्फ डिजेल (रु. ४७ अर्ब ३१ करोड), पेट्रोल (रु. २४ अर्ब ६२ करोड) र एलपी ग्यास (रु. २३ अर्ब १९ करोड) आयातमा ठूलो रकम बाहिरिएको छ। यसबाहेक रासायनिक मल (रु. १९ अर्ब ३० करोड) र कच्चा भटमासको तेल पनि प्रमुख आयातित वस्तुका रूपमा रहेका छन्।
निर्याततर्फ भने कच्चा पदार्थ आयात गरी पुन: प्रशोधन गरेर पठाउने वस्तुहरूको वर्चस्व कायमै छ। रु. ५२ अर्ब ६० करोड बराबरको भटमासको तेल निर्यात भई सूचीको शीर्ष स्थानमा छ।
चालु आर्थिक वर्षको प्रारम्भिक तथ्यांकले बजारमा वैदेशिक व्यापारको आकार विस्तार भएको संकेत गरे पनि आन्तरिक उत्पादनको सबलीकरण र दीर्घकालीन निर्यात रणनीतिबिना व्यापार घाटाको चक्रव्यूहबाट उम्किन कठिन हुने अर्थ-विश्लेषकहरूको ठम्याइ छ।




प्रतिक्रिया