गड्यौले मल उत्पादनमा किसानको आर्कषण


कपिलवस्तु, १२ कात्तिक । माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा कपिलवस्तुका कृषक गड्यौले मल उत्पादन तथा प्रयोगमा लागेका छन् ।

जैविक पदार्थबाट तयार हुने गड्यौले मलले माटोको गुणस्तर सुधार गर्न र बाली उत्पादन बढाउन सहयोग गर्ने भए पनि जिल्लामा यसको उत्पादन र प्रयोग भने सीमित रहेको छ ।

यशोधरा गाउँपालिकास्थित चाँदनी एकीकृत कृषि फर्मले २०७९ सालदेखि गड्यौला पालनसम्बन्धी तालिम, गड्यौलाको बीउ तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । 

फर्मले १५ वटा पिटमार्फत मासिक करिब तीन हजार किलो गड्यौले मल उत्पादन गर्दै आएको छ । उत्पादित मल प्रतिकिलो रु ३० का दरले बिक्री भइरहेको छ । 

गाईभैँसीको गोबर, तरकारीका बोक्रा, पातपतिङ्गरलगायत कुहिने जैविक पदार्थबाट तयार गरिने यस मलको प्रयोगले माटोको संरचना सुधार गर्न, चिस्यान कायम राख्न र बिरुवालाई आवश्यक पोषकतत्व उपलब्ध गराउन मद्दत पुग्छ । 

कृषकले आफ्नै खेतबारीमा प्रयोग गर्नुका साथै बढी भएको मल र गड्यौलाको बीउ बिक्री गरेर आम्दानीसमेत गर्न सक्छन् । यशोधरा गाउँपालिका–३ बहडिलवाका कृषक कृष्णनन्द कोहारले बोडीखेतीमा गड्यौले मल प्रयोग गर्दा उत्पादन दोब्बर भएको अनुभव सुनाए । उनका अनुसार गड्यौले मलको प्रयोगले खेतीको उत्पादन बढाउन सहयोग पुगेको छ । 

यशोधराका अन्य कृषकले तरकारी, धान, मकै, गहुँ र आलुलगायत बालीमा गड्यौले मलको प्रयोग गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीले जिल्लामा गड्यौले मल उत्पादन तथा प्रयोग गर्ने कृषकको यकिन तथ्याङ्क उपलब्ध नरहेको बताए ।

 रासायनिक मलको विकल्पका रूपमा गड्यौले मल उपयोगी भए पनि आवश्यक परिमाणमा उत्पादन गरी सबै कृषकसम्म पु¥याउन कठिन रहेको प्रमुख चौधरीले बताए ।