मौसममा क्रमिक सुधार : न्यून चापीय प्रभाव कमजोर, उपत्यकामा पानी पर्न रोकियो


काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिकै सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशः कमजोर बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र बाँकी रहेकाले देशभरको मौसममा क्रमिक सुधार हुँदै आएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बादल मडारिएको छ। यसबीच बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही भू-भागमा हल्का वर्षा भएको छ भने राजधानीको काठमाडौँ उपत्यकामा भने गएरातिदेखि नै वर्षा रोकिएको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति पनि मौसमको यो क्रम जारी रहँदै देशैभर आंशिक बादल लाग्नेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

मौसममा सुधार आउँदै गरे तापनि तराईका फाँटहरू, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपखको समयमा हुस्सु लाग्ने क्रम कायम रहनेछ।