काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरणमा थप अनुसन्धान नहुने देखिएको छ।
सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्नु र पीडित भनिएकी महिलाले समेत औपचारिक उजुरी नदिनुले अनुसन्धान अघि बढाउन समस्या भएको छानबिन समितिका एक सदस्यले बताएका छन्।
अडियो सार्वजनिक भएपछि रास्वपाले असोज २७ गते अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको थियो। भट्टराई संयोजकत्वमा बनेको छानबिन समितिमा अधिवक्ता सुशीला सिम्खडा, अधिवक्ता उपेन्द्रनन्दन तिमल्सिना, अधिवक्ता सन्तोष आचार्य, रामचन्द्र कार्की, सन्तोष विसुङ्खे (आईटी विज्ञ) छन्। समितिले कात्तिक १२ गते सुनारसँग चार घण्टा बयान लिएको थियो।
समितिले अडियोको प्राविधिक परीक्षण नगर्ने र थप अनुसन्धान आवश्यक नरहेको रायसहित तिहारअघि नै अनुशासन आयोगलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
अब सुनारमाथि कस्तो कारबाही गर्ने भन्ने अन्तिम निर्णय पार्टी नेतृत्व र अनुशासन आयोगको हातमा रहने रास्वपाका नेताहरूको भनाइ छ।




प्रतिक्रिया