सुनसरी, १६ कात्तिक । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन्।
सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रुपैयाँ लगानीमा च्याउखेती सुरु गरेका हुन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गर्ने सोचले सुरु गरेको व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनले बताए।
च्याउखेती सुरु गरेको वर्षमा घाटा व्यहोर्नुपरे पनि पछिल्लो समय आम्दानी बढ्दै गएको गुप्ताले बताए। अहिले करिब छ कट्ठा क्षेत्रफलमा छवटा टनेल निर्माण गरी च्याउखेती गर्दै आएका उनको फार्ममा दैनिक २०० किलोभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ। वार्षिक रूपमा ३० टनभन्दा बढी च्याउ उत्पादन गरी बजारमा बिक्री गर्दै आएको उनले जानकारी दिए।
उत्पादित च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, बराहक्षेत्र, चतरा र आसपासका स्थानीय बजारमा बिक्री हुने गरेको छ। च्याउ बिक्रीका लागि बजारको अभाव नरहेको उनको भनाइ छ। हाल च्याउ प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्म बिक्री हुने गरेको छ भने फार्मबाट खरिद गर्ने व्यापारीले भने केही सस्तोमा लैजाने गरेका छन्।
गुप्ताले भने, ‘गत वर्षको तुलनामा यस वर्ष च्याउको मूल्य घटेको छ।’ गर्मी मौसमको तुलनामा जाडोयामका मङ्सिर, पुस र माघ महिनामा च्याउको मूल्य राम्रो हुने भएकाले प्रतिकिलो २२० रुपैयाँसम्म पुग्ने गरेको उनले जानकारी दिए।
‘विदेशमा धेरै मिहिनेत गर्दा पनि कमाइले खर्च धान्न कठिन हुन्थ्यो’, उनले भने, ‘स्वदेशमै व्यवसाय गर्दा आफूले आम्दानी गर्नुका साथै अरूलाई पनि रोजगारी दिन सकेकाले सन्तुष्टि मिलेको छ।’
अहिले उनको फार्ममा छ जना कामदार कार्यरत छन् भने परिवारका सदस्यले पनि च्याउखेतीमा सहयोग गर्दै आएका छन्। च्याउ टिप्ने, व्यवस्थापन गर्ने र बजारसम्म पुर्याउने काम परिवारका सदस्य मिलेर गर्ने गरेको उनले बताए।
‘च्याउखेतीका लागि धेरै जग्गा आवश्यक पर्दैन’, गुप्ताले भने, ‘थोरै क्षेत्रफलबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ।’ चैतमा लगाइएको च्याउ वैशाखको अन्तिम सातादेखि टिप्न योग्य हुन्छ। वर्षमा करिब १० महिनासम्म उत्पादन लिन सकिने उनले जानकारी दिए।
सुरुमा कृषिसम्बन्धी ज्ञान र प्रविधिको कमीले समस्या भोग्नुपरे पनि अनुभव बढ्दै जाँदा उत्पादन र आम्दानी दुवै बढेको गुप्ताले बताए। सुरुका दिनमा च्याउखेतीसम्बन्धी जानकारी कम भए पनि अहिले अनुभव र सीप बढ्दै जाँदा व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै आम्दानी पनि बढेको उनको भनाइ छ।
खेतीका लागि विशेषगरी पराल, चुन, बाँस, खर र प्लास्टिक आवश्यक पर्ने उनले बताए। खेतीमा कुनै पनि विषादी प्रयोग नगरी च्याउ उत्पादन गरिने भएकाले अर्गानिक च्याउको माग बढ्दै गएको उनको भनाइ छ।
गुप्ताले २०८० सालमा सुनसरी कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ र बराहक्षेत्र नगरपालिकाबाट ९० हजार रुपैयाँ अनुदान प्राप्त गरेका थिए। त्यसैगरी, नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा मिनीट्र्याक्टर, सफारी, टनेललगायत खेतीका लागि आवश्यक सामग्री प्राप्त भएपछि खेती गर्न थप सहज भएको उनले बताए।
‘थोरै दुःख र मिहिनेत गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ’, गुप्ताले भने, ‘युवा वैदेशिक रोजगारीमा जानैपर्छ भन्ने छैन, गाउँमै थोरै लगानीमा व्यवसाय सञ्चालन गरेर पनि जीवन चलाउन सकिन्छ।’




प्रतिक्रिया