दुई सन्तानको संरक्षण र न्यायका लागि रिपोर्टर्स क्लबबाट गुहार माग्दै कलाकार हरिसा बानियाँ(भुनिया)


काठमाडौँ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’की कलाकार हरिसा बानियाँ (भुनिया) ले विगत दुई वर्षदेखि सम्पर्कविहीन भएका आफ्ना श्रीमानलाई सम्पर्कमा आउन सार्वजनिक अपिल गरेकी छन्। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै कलाकार बानियाँले श्रीमान्लाई सम्पर्कमा आउन आग्रह गरेकी हुन्।

विवाह भएको सात वर्ष पुगिसक्दा दुई सन्तानको लालनपालन एक्लै गरिरहेको बताउँदै उनले श्रीमान् लजन पोखरेल दोस्रो विवाह गरी सम्पर्कविहीन बनेको उल्लेख गरिन्। ‘मेरो विवाह भएको सात वर्ष भयो, दुवै सन्तान अहिले मसँगै छन्’, उनले भनिन्, ‘मेरो श्रीमान् लजन पोखरेले दोस्रो बिहे गरेर सम्पर्कविहीन हुनुभएको छ, तुरुन्त सम्पर्कमा आउनुपर्‍यो र छोराछोरीको हेरचाहमा सहयोग गर्नुप¥यो।’

पत्रकार सम्मेलनमा बोल्दै बानियाँले श्रीमान् खोज्नका लागि सासू–ससुराबाट सहयोग नपाएको र उल्टै मानसिक यातना खेप्नुपरेको गुनासो गरिन्। ‘सासू–ससुराले पनि लजनलाई खोज्न मद्दत गर्नुपर्छ, किनभने उहाँ मेरो श्रीमान् मात्र नभई उहाँहरूको छोरा पनि हुनुहुन्छ,’ बानियाँले थपिन्, ‘मलाई घरमा शान्तिपूर्ण ढङ्गले बस्न दिइओस् र गुजाराका लागि घरको एक फ्ल्याटको भाडा मैले पाउनुपर्छ।’

विगत दुई वर्षदेखि श्रीमान्‌को बेवास्ता र घरपरिवारको दबाबका कारण आर्थिक तथा मानसिक सङ्कट झेलिरहेको उल्लेख गर्दै उनले आफ्ना बालबालिकाको अधिकार र सुरक्षित वातावरणका लागि न्यायको माग गरेकी छन्।