जनकपुरधाम, १७ कात्तिक । धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी पालिकाबाटै अनुमतिपत्र वितरणको व्यवस्था मिलाइएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था सुरु गरिएको हो ।
उनले पहिलो चरणमा यातायात व्यवस्था कार्यालय बर्दिबासबाट सञ्चालित प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेका गाउँपालिकाका ४५ जनाको चालक अनुमतिपत्र प्राप्त भएकाले वितरण सुरु गरिएको जानकारी दिए ।
पालिकाबाटै चालक अनुमतिपत्र प्राप्त गर्न थालेपछि अनुमतिपत्र लिन यातायात व्यवस्था कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने र स्थानीय सेवाग्राहीको समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ ।
यस व्यवस्थाले विशेषगरी यातायात कार्यालयसम्म पुग्न समय र खर्च व्यवस्थापन गर्नुपर्ने ग्रामीण क्षेत्रका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ ।




प्रतिक्रिया