सरकार स्वेच्छाचारी ढंगले अघि बढे देश दुर्घटनामा जान सक्छ : सांसद खड्का


काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विधि, पद्धति र कानुनअनुसार नभई स्वेच्छाचारी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले विभिन्न घटनामार्फत डर र त्रासको वातावरण सिर्जना गरेको आराेप लगाए ।

‘कहिले मिडिया हाउसमाथि, कहिले सभापति गगन थापाको घरअगाडि गाडी तेर्स्याएर सरकारले आतंक सिर्जना गरेको छ,’ उनले भने ।

लोकतन्त्रमा सबैको अस्तित्व स्वीकार गर्दै आपसी सहकार्यका आधारमा शासन सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री सबैको अभिभावक भएकाले कसैले गलत गरेको भए संविधान र कानुनअनुसार कारबाही हुनुपर्ने उनले बताए ।

‘कारबाही प्रधानमन्त्रीको सचिवालयले गर्ने होइन । संवैधानिक अंगहरू छन्, प्रहरी, अख्तियार र अदालतले कानुनअनुसार कारबाही गर्नुपर्छ,’ खड्काले भने ।

न्यायाधीशमाथि महाभियोग लगाउने विषय अन्तिम विकल्प हुनुपर्ने उल्लेख गर्दै उनले पर्याप्त सत्यतथ्य र प्रमाणका आधारमा मात्रै यस्तो कदम चाल्नुपर्ने धारणा राखे । महाभियोग लगाउनुपर्ने स्तरको अपराध भएको हो वा होइन भन्ने विषयमा पहिले निष्पक्ष अध्ययन र अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो ।

लोकतान्त्रिक व्यवस्थामा डर र त्रास देखाएर संवैधानिक निकाय सञ्चालन गर्न नहुने बताउँदै खड्काले वर्तमान सरकारबाट जनताले राजनीतिक स्थायित्व र सुशासनको अपेक्षा गरेको उल्लेख गरे ।

‘जनताले सरकारबाट ठूलो भरोसा राखेका थिए । तर, यो सरकार उल्टो दिशामा गएको छ,’ उनले टिप्पणी गरे ।

कांग्रेसले मोर्चाबन्दी गरेर सरकारविरुद्ध आन्दोलन गर्ने रणनीति नलिएको स्पष्ट पार्दै उनले सरकारलाई संविधान, विधि र प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरे । सरकार आवेग र स्वार्थका आधारमा सञ्चालन हुन नहुने उनको भनाइ थियो ।

सरकारको कार्यशैली नसच्चिए मुलुक गम्भीर संकटतर्फ जान सक्ने चेतावनी दिँदै खड्काले राजनीतिक दल र नागरिकले समयमै सचेत भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘स्वेच्छाचारी ढंगले लोकतन्त्र चल्दैन । यही अवस्था कायम रह्यो, जनताले सचेत गराउन सकेनन् र दलहरूले पनि रोक्न सकेनन् भने देश दुर्घटनामा जान्छ,’ उनले भने ।