काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले संसद्मा प्रतिपक्षी दलहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन र जनताका मुद्दा उठाउन नसकेको बताएका हुन् ।
‘मन्त्री, प्रधानमन्त्री र सरकारलाई र्याखर्याख्ती पार्नुपर्थ्यो । तर, प्रतिपक्षी दलहरूले त्यो गर्न सक्नुभएन,’ उनले भने ।
विचौलिया इनम सापकोटासँग नाम जोडिएका न्यायाधीशहरूको विषयमा समेत साेमबार बसेकाे विपक्षी दलहरूको बैठकले ठोस निर्णय लिन नसकेको उनको आरोप थियो । सम्बन्धित न्यायाधीशमाथि महाभियोग लगाउने वा नलगाउने भन्नेबारे विपक्षी दलहरूले स्पष्ट धारणा बनाउनुपर्ने उनले बताए ।
मुलुक संकटको अवस्थामा रहेको उल्लेख गर्दै धमलाले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे । ‘देश संकटमा छ । राष्ट्रिय सहमति गर्नु आवश्यक छ,’ उनले भने ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सुशासन कायम गर्न र भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न पनि आग्रह गरे ।
यसैगरी, भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल आउन लागेको प्रसंग उल्लेख गर्दै धमलाले प्रधानमन्त्री शाहले उनीसँग भेटवार्ता गर्नुपर्ने बताए । नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भए मात्रै नेपालको विकासले गति लिने उनको भनाइ थियो ।
स्थानीय तहको विकासप्रति असन्तुष्टि जनाउँदै धमलाले राजनीतिक दलमा आबद्ध व्यक्तिहरूले नेतृत्व गरेका स्थानीय सरकारबाट १० वर्षमा अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे ।
आगामी स्थानीय तह निर्वाचनमा देशका ७५३ वटै स्थानीय तहमा गैरदलीय उम्मेदवार उठाउनुपर्ने आफ्नो मागसमेत उनले दोहोर्याए । स्थानीय सरकार सञ्चालनमा दलीय प्रभावभन्दा जनताको प्रत्यक्ष सहभागिता र विकासलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।




प्रतिक्रिया