सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट गरी उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएकी छन् ।
बिहीबार समुदायका महिला तथा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै मन्त्री बादीले उनीहरूको परम्परागत जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका कठिनाइ, शिक्षा र स्वास्थ्यको अवस्थाबारे चासो राखेकी हुन् ।
भेटका क्रममा उनले राउटे समुदायले भोगिरहेका समस्या समाधान, जीवनस्तर सुधार तथा आधारभूत सेवा र अवसरमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सो अवसरमा राउटे समुदायका सदस्यहरूले आफ्नै हातले तयार पारेका काठका तीनवटा परम्परागत भाँडा मन्त्री बादीलाई मायाको चिनोस्वरूप प्रदान गरेका थिए । समुदायको मौलिक सीप र संस्कृतिको प्रतिनिधित्व गर्ने ती सामग्री ग्रहण गर्दै मन्त्री बादीले परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताइन् ।
राउटे समुदायले निर्माण गर्ने काठका भाँडाकुँडा तथा महिलाहरूले तयार पार्ने माला लगायतका हस्तकलाका सामग्रीलाई उचित बजारसम्म पुर्याउन सके समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ थियो । परम्परागत सीपबाट उत्पादित सामग्रीले उचित मूल्य र बजार पाउनुपर्नेमा उनले जोड दिइन् ।
मन्त्री बादीले राउटे बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनीहरूको सिकाइ प्रक्रियालाई निरन्तरता दिन आवश्यक वातावरण र सहयोग उपलब्ध गराउनुपर्ने धारणा राखिन् । समुदायको संस्कृति, परम्परा र मौलिक पहिचानलाई सम्मान गर्दै बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षणको दायरामा समेट्नुपर्ने उनले बताइन् ।
यसैबीच, मन्त्री बादीले सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे बालबालिकाका लागि सञ्चालन गर्दै आएको घुम्ती सिकाइ केन्द्रको समेत अवलोकन गरेकी छन् । उनले केन्द्रमा भइरहेको शिक्षण सिकाइ प्रक्रिया, बालबालिकाको शैक्षिक अवस्था र सञ्चालन भइरहेका गतिविधिबारे जानकारी लिएकी थिइन् ।
राउटे समुदायसँगको यो भेटघाटले विशेषगरी महिला तथा बालबालिकाका समस्या, शिक्षा र स्वास्थ्यमा पहुँच, परम्परागत सीपको संरक्षण तथा आयआर्जनका सम्भावनाबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिलेको मन्त्री बादीले बताइन् ।
उनले समुदायको मौलिक पहिचान जोगाउँदै उनीहरूको जीवनस्तर सुधार र आत्मनिर्भरता अभिवृद्धिका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिएकी छन् ।




प्रतिक्रिया