जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ


खोटाङ, २० कात्तिक । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ ।

नेपाल सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा निर्माण गरिएको सुविधासम्पन्न अस्पताल भवनको प्रमाणपत्र बिहीबार सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाका प्रमुख इन्जिनियर सुरज पौडेलले जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा पुस्कल राईलाई हस्तान्तरण गरेका हुन् । 

विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरिएको अस्पताल भवन ३० महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको थियो । 

निर्माण कम्पनी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा लिएको लिफ्ट प्रविधिसहितको चारतले आरसिसी ढलानसहितको अस्पताल भवन समयमा सम्पन्न नभएपछि निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएर निर्माण गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई हस्तान्तरण गरेको थियो । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले औपचारिक रूपमा ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेसँगै तिहारपछि सेवा शुभारम्भ गर्ने तयारी गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले जानकारी दिएका छन्। 

‘सुविधासम्पन्न अस्पताल भवनका लागि आवश्यक सामग्री जडान गर्न बाँकी छ । तिहारपछि सबै सामग्री जडान गरेर ५० शय्याको सेवा शुभारम्भ गर्ने योजनामा छौँ’, उनले भने, ‘सेवा सञ्चालनपछि उपचारका लागि कोही पनि बाहिर जानुपर्दैन । अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध हुन्छ । विगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकप्टर चार्टरका लागि सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।’

पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु भएपछि निर्माण कम्पनीले जिल्लाकै निर्माण व्यवसायी सुनिल राईलाई जिम्मा दिएको थियो । तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध-निर्देशकसमेत रहेका निर्माण व्यवसायी राईले निर्माणको जिम्मा लिएपछि लामो समयसम्म अलपत्र बनेको सुविधा सम्पन्न अस्पताल भवनको काम सम्पन्न भएको हो  । 

लामो समयसम्म अलपत्र अवस्थामा रहेको अस्पताल भवन निर्माणका लागि सबै पक्षले गरेको सहयोगप्रति सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रमुख  इन्जिनियर पौडेलले धन्यवाद व्यक्त गरे। आफू निर्माण व्यवसायी भएर आफ्नै जिल्लाको अस्पताल भवन निर्माण गर्न पाउँदा खुसी लागेको निर्माण कम्पनीका प्रतिनिधि राईले बताएका छन् । 

विसं २०४९ वैशाख १ गते १५ शय्याको सेवा उपलब्ध गराउनेगरी स्थापना गरिएको जिल्ला अस्पताललाई २०८२ साल असार २२ गते ५० शय्याको सेवा शुभारम्भ गरिएको थियो । अस्पताल भवन निर्माण सम्पन्न नहुँदै सबै प्रकारका बिरामीको उपचार सेवा जिल्लामै उपलब्ध गराउने भन्दै कोशी प्रदेश सरकारका तत्कालीन स्वास्थ्य एवं भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सेवा शुभारम्भ गरेका हुन् ।

पन्ध्र शय्या क्षमतामा स्थापना भएको ३३ वर्षपछि ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा आवश्यक भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको थियो । निर्माणाधीन जिल्ला अस्पताल भवनको काम सम्पन्न नभइ कोशी प्रदेशका मन्त्रीको उपस्थितिमा तामझामका साथ ५० शय्याको सेवा शुभारम्भ गरिएको विषयमा सामाजिक सञ्जालमा असन्तुस्टि जनाएका थिए । 

अस्पताल भवनको पहिलो तलामा ओपीडीकक्ष, इमरजेन्सीकक्ष, शल्यक्रियाकक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूम (कोठा) लगायतका भौतिक संरचना निर्माण गरिएको छ ।  अस्पताल भवनको दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयूकक्ष, आइसोलेसनकक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका भौतिक संरचना निर्माण गरिएको छ ।