काठमाडौं । नेपाल प्रहरीले यस वर्षको सर्वोत्कृष्ट कुकुरका रूपमा खोज तथा उद्धारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ‘ली’लाई घोषणा गर्दै पुरस्कृत गरेको छ।
महाराजगञ्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले कुकुर तिहारको अवसरमा आइतबार आयोजना गरेको विशेष कार्यक्रममा प्रहरी प्रधान कार्यालयका डीआईजी ओम रानाले लीलाई अवार्ड प्रदान गरेकाे हाे ।
ल्याब्राडोर रिट्रिभर जातको भाले कुकुर ली गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि नुवाकोटमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्यमा खटिएको थियो। उक्त विपद्का क्रममा प्रहरीले नुवाकोटमा दुईवटा ल्याब्राडोर कुकुर परिचालन गरेको थियो।
खोज तथा उद्धारका क्रममा उत्कृष्ट क्षमता प्रदर्शन गरेको लीले शवका अंग तथा शव पत्ता लगाउन उद्धारकर्मीहरूलाई महत्त्वपूर्ण सहयोग पुर्याएको नेपाल प्रहरी केनाइन कार्यालयका प्रमुख एसपी डा. रामचन्द्र सत्यालले जानकारीदिए
भोटेकोशीमा आएको विपद्पछि प्रहरीले खोज तथा उद्धारका लागि लीसहित चारवटा कुकुर परिचालन गरेको थियो। विपद्बाट सबैभन्दा बढी प्रभावित रसुवामा भने प्रहरीले जर्मन शेफर्ड र बेल्जियन शेफर्ड जातका दुईवटा कुकुर परिचालन गरेको थियो।
रसुवाको टिमुरे क्षेत्रमा पनि कुकुरको सहयोगमा प्रहरीले शव खोजी तथा संकलन गरेको थियो। त्यहाँ खोज तथा उद्धार अभियानको नेतृत्व गर्नुभएका एसएसपी दीप शमशेर जबराका अनुसार प्रहरीको कुकुर टोलीको सहयोगमा टिमुरे क्षेत्रमा तीनवटा शव फेला पारिएको थियो।
बाढीपहिरोका कारण पुरिएका घर तथा अन्य संरचनामा समेत कुकुरहरू परिचालन गरिएको थियो। खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रहरीले हेलिकप्टरमार्फत कुकुरहरूलाई प्रभावित क्षेत्रमा पुर्याएको थियो।
विपद्का कठिन परिस्थितिमा आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्दै मानवीय उद्धारमा महत्त्वपूर्ण योगदान पुर्याएको लीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुरका रूपमा सम्मान गरिएको हो।




प्रतिक्रिया