त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन


लमजुङ, १ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङलगायतले सोमबार रङ्गशालाको अवलोकन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले रङ्गशालाको पूर्वाधार विकासका लागि तत्काल १० लाख उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनले लमजुङकै प्रतिष्ठित खेल मैदानका रूपमा रहेको त्रिवेणी रङ्गशालालाई व्यवस्थित बनाउन प्रदेश सरकारको ध्यान गएको बताए ।

खेल मैदानको स्तरोन्नति र आवश्यक पूर्वाधार विकास गर्नसके खेलाडी उत्पादन तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सकिने उनको भनाइ थियो ।

खेलकुदले खेलाडीको प्रतिभा पहिचान र विकाससँगै नागरिकको स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउने भएकाले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।

आवश्यक सहयोग उपलब्ध गराउँदै खेलकुद पूर्वाधार निर्माण र विकासमा प्रदेश सरकारले अग्रसरता लिँदै आएको उनको भनाइ थियो । प्रदेशका पूर्वमन्त्री एवं त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष पौडेलले रङ्गशालालाई थप व्यवस्थित बनाउन प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।

विगतमा खेलमैदान व्यवस्थापनमा निकै समस्या रहे पनि विभिन्न निकाय र क्षेत्रको सहयोगबाट अहिलेको अवस्थामा आइपुगेको उनले उल्लेख गरे । केही सुधार भए पनि रङ्गशालालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ थियो ।

त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले रङ्गशालाको स्तरोन्नति र पूर्वाधार विकासका लागि आवश्यक सहयोग गरिदिन मुख्यमन्त्री तथा प्रदेश सरकारसँग आग्रह गरे ।

बजेट अभावका कारण अपेक्षाअनुसार रङ्गशालालाई व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै उनले यसलाई लमजुङ मात्र नभई गण्डकी प्रदेशकै नमुना रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

उनले रङ्गशालाको पूर्वाधार विकासका लागि विगतदेखि नै प्रदेश सरकारसँग सहयोग माग्दै आएको र आगामी दिनमा पनि आवश्यक पहल जारी राख्ने बताए।

त्रिवेणी युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता जिल्लाकै ठूलो तथा प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा परिचित छ ।

राष्ट्रियस्तरका क्लब तथा खेलाडीको सहभागिता रहने प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ । प्रतियोगिताको नियमित आयोजनाले रङ्गशालाको महत्त्व र पूर्वाधार विकासको आवश्यकतालाई थप उजागर गरेको छ । RSS/file photo