जसपा नेपालसँग कुरा मिलिसक्यो, अध्यादेश पारित हुन्छः कांग्रेस नेता घिमिरे


काठमाडौं, २४ माघ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशको सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुरा मिलिसकेको बताएका छन् । आज (बिहीबार) कांग्रेस संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जसपा नेपालसँग अध्यादेशको बारेमा कुरा मिलिसकेको र संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित हुनेमा कुनै समस्या नरहेको बताएका हुन् ।

साथै, नेता भट्टराईले जसपा नेपाल कुन शर्तमा अध्यादेशको पक्षमा उभिएको हो भन्ने कुरा भोलि थाहा हुने बताए । उनले शर्तको बारेमा अहिले केही खुलाउन चाहेनन् । स्रोतका अनुसार भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको मुख्यमन्त्री र संघीय सरकारका आफ्नो भाग खोजेका छन् । जसपा नेपालको संघीय दलको बैठक बस्नुअघि उपेन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

‘प्रतिनिधि सभामा केही समस्या छैन । राष्ट्रिय सभाको हकमा केही समस्याजस्तो देखियो अहिले आएर । मिलिसक्यो, जसपा नेपालले समर्थन गर्छ । हिजोपनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले पनि सत्ता पक्षमै बसिरहेको छ । उहाँहरु समर्थन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ । शर्त अहिले छाड्दिनुस्, शर्त भोलि थाहा पाउनुहुनेछ । आजको दिनमा उहाँहरुको समर्थनले यो अध्यादेश पारित हुन्छ,’– उनले भने ।