काठमाडौं, २४ माघ । अन्तरजातीय विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१०का सत्यन्द्र कुमार राम चमार र सोही नगरपालिका–७कि नेहा रौनियारमाथि सरकारले घोर अन्याय गरेको भन्दै प्रतिनिधि सभामा सांसदहरुले आवाज उठाएका छन् । सो घटनामा राज्यशक्तिको दुरुपयोग भएको सांसदहरुको दाबी छ ।
नेपाली कांग्रेसकी सांसद शान्ति विकले यस विषयमा सत्य तथ्य प्रष्ट पारिदिन गृहमन्त्री रमेश लेखकको ध्यानाकार्षण गराएकी छन् । नेकपा (एमाले) कि नेतृ एवं सांसद हर्कमाया विकले सो घटना नेपालको कूल जनसंख्याको १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायमाथि घोर अपमान भएको बताईन् । अन्तरजातीय विवाहलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा राज्यशक्ति नै विरुद्धमा लागेको भन्दै उनले आपत्ति जनाईन् ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रणेन्द्र बरालीले गृहमन्त्रीकै आदेशमा प्रहरीले अन्तरजातीय विवाह गरेको जोडीमाथि ज्यादति गरेको आरोप लगाए । ‘जिबी राईजस्ता मान्छेलाई पक्रिन नसक्ने प्रशासनले निरीह दलित दम्पतिलाई पक्रिएर बडो बहादुरी देखायो । अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बाल विवाहजस्ता झुठा मुद्दा लगाएर ज्यादति गर्ने काम भयो,’– उनले भने ।
उनले यस्तो प्रकारको हर्कत निन्दनीय रहेको बताए । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै उनले सत्यन्द्र र नेहाको जीवन सुरक्षाको माग गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद शिव नेपालीले आफूलाई वर्तमान सरकार हात्तिको दाँतजस्तै लाग्न थालेको टिप्पणी गरे । सरकारले देखाउने एउटा चपाउने अर्को गरिरहेको उनको दाबी गरे । अन्रजातीय विवाहलाई प्रोत्सहान गर्नुपर्ने राज्यको नीति भएपनि सरकारले गलत व्यवहार गरेको उनको भनाइ छ । सत्यन्द्र र नेहामाथि अन्याय भएको कुरामा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।




प्रतिक्रिया