काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रचण्डले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको आरोप लगाए । उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।
उनले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमसम्बन्धी विद्येयकको पनि विरोध गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरेको भन्दै आफूले प्रश्न नगर्ने बताए । तर, नेपाली कांग्रेसको उक्त विद्येयकबारे के धारणा हो भनेर दाहालले प्रश्न तेर्साए ।
ृउनले माओवादी अब सत्ताको खेलमा नहुने र नलाग्ने स्पष्ट पारे । उनले आफूलो यो कुरा कुनै भावाना वा आवेगमा नभनेको स्पष्ट पारे । उनले आफूहरु अब जनतातिर फर्किएको पनि दाबी गरे ।
उनले अहिलेको सरकार प्राकृतिक नभएको, संवैधानिक नभएको र पारदर्शी नभएको कुरा आफूले पटक पटक दोहोर्याएको तर सरकार ढाल्छु भनेर कहिल्यैपनि नभनेको स्पष्ट पारे । उनले भने,‘मैले यो सरकार आफ्नै बोझले ढल्छ भनेको छु, ढाल्छु भनेर कहिल्यैपनि भनेको छैन् । यो कुरा हेक्का रहोस । त्यसैले अब हाम्रो कारणले तपाईंहरुले एक अर्काको कुर्सी मिलाराख्न पर्दैन् । एकै ठाउँमा कुर्सी राखेर हामी एक छौं भनेर देखाईराख्न पर्दैन् ।’
उनले कांग्रेस र एमालेलाई ०८४ सम्म मात्रै नभएर अझै लामो समयसम्म सहकार्यको लागि शुभकामना दिए । उनले माओवादीले अब आफ्नै खुट्टामा टेकेर र आफ्नै सामथ्र्यमा उभिएर सरकार बनाउने उद्घोष गरे ।
उनले विचौलियाहरुलाई खुला चूनौति दिँदै भने–‘तपाईंहरुले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन् । तपाईंहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोष्ट्रमबाट चूनौतिका साथ भन्न चाहन्छु–ती तपाईंका फाईलहरु फेरि खोलिनेछन् । नेपाली जनताले खोल्नेछन् । हामी खोल्नेछौं ।’




प्रतिक्रिया