काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ’– अध्यक्ष प्रचण्डले भने, ‘अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?’
पाथिभरा केवलकारको विवादमा जनतामाथि गोली चलाइएकोमा उनले आपत्ति जनाए । उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा सरकार उल्टो दमनको बाटो रोजेको आरोप लगाए । टिसर्टमा कसैको फोटो देखियो भनेर पनि नागरिकलाई नियन्त्रणमा लिने, सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई थुन्ने र मुद्दा चलाउउने, सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरङ्कुश सोंच भएको उनको दाबी छ । ‘यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?’ उनले प्रश्न गरे ।




प्रतिक्रिया