देशलाई बनाउन हिँडिरहेका चन्द्र ढकाललाई अराजकहरुले लखेटिरहेका छन्ः एमाले युवा नेता थापा


काठमाडौं, २४ माघ । नेकपा (एमाले) का युवा नेता मंगल थापाले यही देशमा केही गर्छु भनेर हिँडिरहेका चन्द्र ढकाललाई अराजक समूहरुले लखेटिरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

युवा नेता थापाले पाथीभरामा केबलकार बन्दा धर्म नाश नहुने दाबी गरे । बरु त्यहाँका जनताले रोजगारी र सुविधा पाउने उनको भनाइ छ । देशमा रोजगारी सिर्जना गर्छु, राज्यलाई सहयोग गर्छु भनेर हिँडेका ढकाललाई लखेट्ने काम भएको भन्दै उनले आपत्ति जनाए ।

‘पाथीभराका केबलकार बन्दा त्यहाँको जनताले रोजगारी पाउँछन्, त्यहाँको जनताले सुविधा पाउँछन् । पाथीभरामा केबलकार बन्दा धर्म नष्ट हुन्छ भन्ने तर्क गरिराखेका छन् । यस्तोपनि कहीँ हुन्छ ? यो देशमा बसेर म रोजगारीको सिर्जना गर्छु, बेरोजगार युवाहरुलाई रोजगारी दिन्छु, राज्यलाई सहयोग गर्छु, राज्यको कानुन मान्छु भनेर देशलाई बनाउन हिँडिरहेका चन्द्र ढकाललाई आज यो देशका अराजकहरुले लखेटिरहेका छन्,’– उनले भने ।

आफ्ना निजी स्वार्थ पूरा गर्ने नाममा अराजकता निम्त्याउन नपाइने उनले बताए । त्यस्ता व्यक्तिहरुलाई ठेगान लगाउन सरकार तयार हुनुपर्ने उनले बताए ।