प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्को रेकर्डबाटै हटाउनु पर्नेगरि के भनेका थिए स्वर्णिम वाग्लेले ?


काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त गरि दिएको अभिव्यक्ति सच्याउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले वाग्लेबाट प्रयोग भएको अभिव्यक्तिमा उक्त शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।

नियमापत्ति गर्दै खतिवडाले भनेका थिए, ‘सभामुख महोदय, २०८१ फागुन ६ गतेका दिन भारतको उडिसामा प्रकृति लम्सालको भएको दुखद निधनप्रति हामी सबै चिन्तित भयौ । उहाँको स्वर्गवास भयो, हामी सबैले उहाँप्रति श्रद्धाञ्जली दियौ । तर, एक जना माननीय सदस्यले सपरिवारलाई श्रद्धाञ्जली भनेर संसदमा बोल्नुभएको छ । बुटवलवासी मात्रै होइन, समग्र देशवासी नै घरपरिवारमा एउटा छोरी परलोक भएको अवस्थामा परिवारका सबैलाई श्रद्धाञ्जली भन्ने वक्तव्य रेकर्डबाट हटाइयोस् । यो फागुन ६ गतेका दिन डा।माननीय स्वर्णिम वाग्लेले त्यस्तो भन्नुभएको छ । त्यसैले यो संसदको रेकर्डबाट हटाइयोस् भनेर माग गर्दछु सभामुख महोदय ।’

सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिएका हुन् ।

उनले भने ‘माननीय सदस्य ज्यूले उठाउनुभएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ । म सचिवालयलाई के भएको रहेछ, त्यस्तो भएको छ भने त्यसलाई सच्याउनका लागि निर्देशन दिन्छु ।’

गत फागुन ६ गतेको संसद् बैठकमा बोल्दा डा वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएका थिए । उनले भनेका थिए ‘सभामुख महोदय, हिजो ओडिसाको केआईआइटी असाध्यै दुखद घटना घट्यो । नेपाली विद्यार्थी प्रकृति लम्सालको असामयिक निधन भएको छ । परिवारजनप्रति म र हाम्रो पार्टीका प्रवक्ताबाट श्रद्धाञ्जली पनि व्यक्त गरेका छौ ।’