अन्डाको मूल्य पुरै उल्टियो


काठमाडौं, फागुन १२ । अन्डा उत्पादक किसान र व्यवसायीले घटाएको भाउ दुई दिनमै उल्टाएका छन् । गत शुक्रबारदेखि लागु हुने गरी प्रतिक्रेट अन्डामा ३० देखि ३५ रुपियाँ घटाएका व्यवसायीले सोमबारदेखि लागु हुने गरी प्रतिक्रेटको अन्डाको भाउ ३५ देखि ४० रुपियाँसम्म बढाएका छन् । भारतको सेतो अन्डा आयातमा कडाइ गरेपछि नेपालमा उत्पादन हुने रातो अन्डाको माग बढ्न थाल्नेबित्तिकै व्यवसायीले अन्डाको भाउ पुनः बढाएका हुन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य प्रतिक्रेट ३५ देखि ४० रुपियाँका दरले बढाइएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले अन्डामा हाल बढाएको मूल्यमा बिक्री गर्दा पनि प्रतिक्रेट ७०/७५ रुपियाँ किसानलाई अझै नोक्सान रहेको दाबी गरे ।