झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन,भएको के हो ?


काठमाडौं । सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई-मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए ।

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका छैनन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठ अहिले चितवन पुगेका छन् । अहिले माडी नगरपालिकामा हुन लागिएको चार दिने शिवरात्रि मेलाको उद्घाटनका लागि श्रेष्ठ चितवन आएका हुन् । झापामा रिसाएर चितवन आएका उनी फेरि अभियानमा जोडिने वा नजोडिने भन्नेमा आशंका उब्जिएको छ ।

सोमबार झापामा किन रिसाए नारायणकाजी ?

सोमबार माओवादी केन्द्रले नेपालकै होचो भुभाग झापाको कचनकेवलबाट आफ्नो अभियान थालेको थियो । अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सबै पदाधिकारी उपस्थित भएका थिए ।

यसअघिका कार्यक्रममा अध्यक्ष प्रचण्डमात्र बोल्ने गरेकोमा हिजोको कार्यक्रममा सबै पदाधिकारी बोल्ने तय भएको थियो । सोही अनुरुप नारायणकाजीको पालो आएपछि उनी बोल्न थालेका थिए ।

संविधान जारीदेखि वर्तमान अवस्था सम्मको कुरा गर्न सुरु गरेका श्रेष्ठ बिचमै रिसाउन पुगेका थिए । त्यति नै बेला कार्यक्रमका उद्घोषक माओवादी केन्द्र झापाका अध्यक्ष राज आचार्य ‘अग्नि’ नारायणकाजीको छेउमा गएर उभिए।

त्यसपछि नारायणकाजी एकाएक जंगिए, ‘तपाईं मलाई सम्बोधन सक्नु भन्न आउनु भएको हो? हो भने भन्नुस्। म जान्छु।’

आचार्यले भने, ‘होइन, त्यस्तो होइन।’

नारायणकाजी पुनः जंगिए, ‘होइन भने किन अगाडि उभिन आउनु भएको? उनले दर्शकदीर्घातिर फर्केर फेरि भने, ‘समयको चाप छ, म थोरै कुरा भन्न चाहन्थें। कार्यक्रम सञ्चालकलाई समयको चाप भयो होला, म विदा चाहन्छु, लाल सलाम!’

त्यसपछिको सम्बोधनमा प्रचण्डले उक्त घटना सामान्य भए पनि समीक्षा गरिने बताए।