एमालेलाई विप्लवको जवाफः जनयुद्ध नभएको भए नेपालमा अझै सय वर्षसम्म सामन्तवादको रजाइँ चल्थ्यो


काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी सशस्त्र संघर्ष (जनयुद्ध) बारे नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धले मुलुकलाई पछाडि धकेल्यो भन्ने भाष्य खडा गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले जनयुद्धले सामन्तवादको रजाइँ समाप्त पारिदिएको बताए । नेकपा (एमाले) का नेताहरुतर्फ लक्षित गर्दै उनले भने, ‘केही मान्छेहरुले भनेको सुन्छौं हामी– जनयुद्धले धेरै क्षति भयो, धेरै जनताले दुःख पाए । होईन, यदि जनयुद्ध नभएको भए नेपाली समाज एक सय वर्ष अझै पछाडि हुन्थ्यो । अझैं पनि एक सय वर्षभन्दा पछिसम्म नेपालमा सामान्तवादको रजाइँ चल्थ्यो ।’

सर्वोच्च अदालतलेसमेत राजनीतिक विषयमा प्रवेश गरेर जनयुद्धमाथि नकारात्मक भाष्य बनाउने खोजेको भन्दै उनले आपत्ति जनाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला जनयुद्ध दिवसमा विदा दिएको विषयलाई अदालतले गरेको व्याख्यामा आपत्ति जनाए ।

‘अदालतले अहिले के भनिराखेको छ भने– जनयुद्ध दिवस भन्न पाइँदैन रे । यो त राजनीति विषय हो नि त । राजनीतिक ढंगले प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदाखेरी जनयुद्ध दिवस मनाउने निर्णय गरियो । तर, अदालतले रोकिराखेको छ, अर्कोले रोक्छ, अर्कोले रोक्छ । राज्यका संरचनाहरु जनताको हितअनकूल भएका छैनन्, आन्दोलनको मर्मअनुसार भएका छैनन् । इतिहासको रक्षा गर्नेगरी भएका छैनन्,’– उनले भने ।