आफैंले लडेको जनयुद्धको अपमान नगर्न बादललाई माओवादी सचिवको सुझाव, त्यो न्याय, मुक्ति र स्वतन्त्रताका लागि जनताले लडेको आन्दोलन रहेको दाबी


काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव देबेन्द्र पौडेलले रामबहादुर थापा ‘बादल’ ले आफैंले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई अपमान गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बादलले राजनीतिक संस्कार पनि विर्सिएर आफैं सहभागी भएको आन्दोलनको अपमान गरेको बताएका हुन् ।

माओवादीले एमालेले गरेको झापा विद्रोह, पिस्कर काण्ड र कांग्रेसको मुक्ति आन्दोलनलाई कहिल्यै अपमान नगरेको र नगर्ने पनि उनले बताए । माओवादीले ती आन्दोलनहरुलाई जनयुद्ध जतिकै सम्मान गर्ने उनको भनाइ छ । उनले जनयुद्ध हिंसा नभएर न्याय, मुक्ति र स्वतन्त्रताका लागि जनताले लडेको आन्दोलन रहेको दाबी गरे । सो आन्दोलनमा जनताका छोराछोरी सहभागी भएको कारण नै जनयुद्ध भएको उनको दाबी छ ।

माओवादी परित्याग गरी अहिले एमालेको उपाध्यक्ष रहेका बादलको अभिव्यीक्ततर्फ केन्द्रीत हुँदै उनले भने, ‘व्यक्तिगत रुपमा मेरो कुनै पूर्वाग्रह छैन । तर, उहाँले जुन शब्द प्रकट गर्नुभयो– आफैंले सुरुवात गरेको फाउन्डरले आन्दोलनलाई शब्द चयन गर्दा ख्याल पुर्याउनुपर्छ नि । हामी झापा आन्दोलनलाई कहिल्यै अपमान गर्दैनौं । पिस्करलाई हामी कहिल्यै अपमान गर्दैनौं । कांग्रेसको नेतृत्वमा त्यतिबेला सुरुवात गरिएको मुक्ति आन्दोलनलाई हामी कहिल्यै अपमान गर्दैनौं । जसरी जनयुद्धलाई हामी स्यालुट गर्छौं, त्यसरी नै ती आन्दोलनलाई हामी स्यालुट गर्छौं । म हजार पटक भन्न चाहन्छु– जनयुद्ध हिंसा हाईन, न्याय, मुक्ति र स्वतन्त्रताका लागि जनताले लडेको आन्दोलन हो ।’