स्वकीय सचिव आत्महत्या प्रकरण: बागमतीका विपक्षी दलले मागे सहकारी मन्त्री श्रेष्ठको राजीनामा, संसदीय छानबिन समिति गठनको माग


काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको आत्महत्या प्रकरणमा बागमती प्रदेशका विपक्षी तीन दलले मन्त्री श्रेष्ठको राजीनामा मागेका छन् । बिहीबार नेकपा एकीकृत माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।

‘मृतक रवि थापाको अकल्पनीय मृत्यु पछि प्रहरीले फेला पारेको आत्महत्या सम्बन्धी मृतकको स्वलेख (सुसाइड नोट) भनिएको पत्र तथा सहकारी सम्बन्धी मृतक रविको बाहिरिएको अडियो रेकर्डमा मन्त्री मदु कुमार श्रेष्ठ लगायत नेताहरुको समेत नाम सुनिएको र सोही कारण बाध्यात्मक परिस्थितिमा आत्महत्या भएको भन्ने आसयका समाचार आदिले घटनालाई रहस्यमय बनाएको छ । उक्त घटनालाई हामी बागमती प्रदेश सभामा प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले गंभिर रुपमा लिएका छौं । त्यसैले यस घटनाको सबै पक्षबाट छानविन हुन अत्यन्त जरुरी छ । हामी यस घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण निर्माण गर्न मन्त्री मदुकुमार श्रेष्ठको राजिनामा माग गर्दछौ’ तीन दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा माओवादीका रत्न ढकाल, एकीकृत समाजवादीका वसन्त मानन्धर र राप्रपाकी कुमारी तामाङले हस्ताक्षर गरेका छन् । विपक्षी तीन दलले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । घटनाको छानबिनका लागि तत्काल संसदीय समिति बनाउन माग गरेका छन् ।

‘यस घटनाको प्रदेश स्तरमा संसदीय छानविन समिति बनाई वास्तविकता बाहिर ल्याउनु पर्दछ । त्यसैले हामी प्रदेश सभाको बैठक अविलम्व सञ्चालन गरी रवि थापा मृत्यु सम्बन्धी सर्वदलीय संसदीय छानविन समिति निर्माण गर्नका लागि प्रदेश सभाको बैठक तत्काल सुचारु गरी छानविन समिति गठन गर्न प्रदेश सरकार र सभामुख समक्ष यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार मन्त्री श्रेष्ठका स्वकीय सचिव थापाले आत्महत्या गरेका थिए । काठमाडौंमा रहेका थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर काठमाडौँको कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

बागमती प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्माहत्या गरेको खुलेको छ।

केही दिन अघि मन्त्रीका स्वकिय सचिव थापाले कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै बोलेको अडियो एक मिडियाले प्रशारण गरेको थियो त्यसलगत्तै कांग्रेसका नेता बर्तौला पक्राउ परेका थिए । भने थापाले आत्महत्या गरेका छन् ।

थापाले आत्महत्या गर्नुअघि एक सुसाइड नोटसमेत लेखेको खुलेको छ । मृतक थापाको साथबाट प्राप्त नोटमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको उल्लेख भएको स्रोतले जनाएको छ ।