काठमाडौं । राजधानीमा जारी ‘केपी ओली कप फुटबल’को फाइनल खेल हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् ।
आइतबार बफोन काठमाडौं आइपुगेका हुन । उनलाई त्रिभुवन विमानस्थलमा आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलगायतले स्वागत गरेका थिए ।
सन् २००६ मा इटालीले विश्वकप जित्दाका बुफोन महत्त्वपूर्ण सदस्य रहेका थिए । इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।
युवा संघले आयोजना गरेको प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता छ । उपाधिका लागि भोलि मच्छिन्द्र क्लव र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा भिड्दैछन् ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।




प्रतिक्रिया