काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको तराई–मधेस जागरण अभियानले देशलाई नयाँ राजनीतिक स्थायित्वतिर लाने बताएका छन् । महोत्तरीमा रहेका प्रचण्डले पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै अभियानले देशमा रहेको अराजकता अन्त्य गरी एउटा नयाँ परिस्थिति बनाउन मद्धत गर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीको अभियान सोचेभन्दा धेरै उत्साहजनक रहेको, यसले जनतामा उभार ल्याएको र राष्ट्रिय राजनीतिमा पनि जबरजस्त प्रभाव पारेको दाबी गरे ।
‘यो अभियानले हामीले सोचेभन्दा धेरै ठूलो उत्साह र उभार ल्याएको छ यस क्षेत्रको जनतामा । यो अभियानले यस क्षेत्रमा मात्रै होईन, सिङ्गै राष्ट्रको राजनीतिमा पनि जबरजस्त प्रभाव पारेको मैले महशुस गरेको छु,’– अध्यक्ष प्रचण्डले भने ।
जनताका समस्याहरु नजिकबाट बुझ्न र समाधानको निम्ति सदन, सरकार र सडकबाट आवाज उठाउने उद्देश्यका साथ आफूहरु अभियानमा हिँडेको उनले बताए । अभियानमा आएर भाषण गर्ने रुपमा मात्रै अगाडि नबढेर जनताको हृद्धय बुझ्ने हिसाबले आफूहरु संवादमा जुटेको पनि उनले बताए । अध्यक्ष प्रचण्डले अभियानका क्रममा किसान, मजदुर, सहिद परिवार, बेपत्ता परिवार, उत्पीडित महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु सबैसँग प्रत्यक्ष संवाद गरिएको र उनीहरुको पीडा बुझ्ने कोशिस भएको बताए । उनले अहिले आफूहरु जनताकै घरमा बसेको र जनतासँगै खाने गरेको बताए । माओवादीको यस प्रकारको क्रियाकलापले जनता एकदमै खुसी र उत्साहित पाएको पनि उनले सुनाए ।
‘हामी जनताकै घरमा बसेका छौं, जनतासँगै खाएका छौं । हामी आफ्नो आत्मासमीक्षासहित जनतासँग जति दह्रोसँग जोडिनुपर्थ्यो, विगतमा अलिकति कमी भयो भन्ने महशुस गरेर गएका छौं । जनता यति खुसी छन्, जनताले जे खाएका छन्, हामीले पनि त्यही खान्छौं । जसरी बस्छन्, त्यसरी बस्छौं । यसको जनतामा बहुआयमिक प्रभाव परेको छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले वर्तमान सरकार अध्यादेशमा फेल नै भएको दाबी गरे । अध्यादेश पारितको नाममा औपचारिकता र यान्त्रिक काम भएपनि सरकारले लज्जास्पद रुपमा हार व्यहोरिसकेको उनको दाबी छ । ‘सरकार त मेरो विचारमा अध्यादेशमा त फेल भइसक्यो । पारित गर्ने कुरा त्यो औपचारिकता र यान्तिक कुरा छोड्दिनुस् । साँचो कुरा के हो भने एक महिना ढिलो गरी गर्नु सरकारको यो भन्दा लज्जास्पद कुरा केही पनि होईन । तथाकथित दुई तिहाइको बहुमत भएकाले जुनदिन अध्यादेश दर्ता गर्यो, त्यही दिन प्रस्तुत गर्न किन सकेन ? दोस्रो कुरा भूमिसम्बन्धी अध्यादेश न फिर्ता लिएको छ, न केही गरेको छ ? यसबाट पनि सरकार असफल नै भएको छ,’– उनले भने ।




प्रतिक्रिया