शेरबहादुरजीसँग मेरो भेट भइराखेको छ, हाम्रो सौहार्दतामा कमी आएको छैनः प्रचण्ड


काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन् । आज (बिहीबार) पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुबीचको सौहार्दतामा कुनै कमी नआएको बताएका हुन् । देउवासँग आफ्नो सौहार्दतापूर्ण सम्बन्ध रहेपनि माओवादी सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने उनले बताए । माओवादी आगामी २०८४ को निर्वाचनमा एक्लै जनतामाझ जाने र जनमत लिएर आएपछि मात्रै सरकार बनाइने उनले बताए ।

‘शेरबहादुर देउवाजीसँग भेट भइराखेको छ । हाम्रो सौहार्दतामा कुनै कमी आएको जस्तो लाग्दैन मलाई । तर, सरकार बनाउने विषयमा हामी अहिले छैनौं । अहिले जनतामै हामी ठीक छौं । २०८४ मा जनता पाएर हामी नेतृत्व गर्ने ठाउँमा जान्छौं भन्ने विश्वास छ । एक्लै निर्वाचनमा जाने हो, कसैसँग सहकार्य नगर्ने,’– उनले भने ।

साथै, वर्तमान सरकारको जन्म नै गलत प्रक्रियाबाट भएको उनले बताए । अध्यक्ष प्रचण्डले सरकारको गलत क्रियाकलापको विरोध, भण्डाफोर र आलोचना गरिराखिएको पनि उनले बताए । ‘अहिले प्रमुख प्रतिपक्षी दलको नेताको नाताले मैले सरकारले गर्ने गलत क्रियाकलापको विरोध गर्नु, भण्डाफोर गर्नु, आलोचना गर्नु जिम्मेवारी नै हो । हामीले त्यो त गरेकै छौं । तर, यो सरकारको जन्म नै गलत उद्देश्यले भएको छ । देश, जनता र लोकतन्त्रको हितभन्दा सुशासनको विरुद्ध बनेको सरकार हो । त्यसकारण यसबाट धेरै आशा गर्ने ठाउँ छैन,’– उनले भने ।