काठमाडौं, २३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान कार्यान्वयनतर्फ गम्भीर हुन नसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवा, प्रचण्ड र ओली प्रधानमन्त्री बन्दा उनीहरुको नियत प्रदेशलाई अधिकार नदिने नै देखिएको बताएका हुन् । उनले संघले प्रदेशले पाउनु पर्ने बजेट नदिएको र प्रदेशहरुले भएको बजेट पनि तदारुकताको साथ खर्च गर्न नसकेको बताए । संघीय सरकारसँग प्रदेश सरकारले अधिकारको लागि आवाज उठाउन नसकेको उनले बताए ।
‘५ वर्ष म आफैं मुख्यमन्त्री बनेँ । बीचमा अहिलेका सम्माननीय प्रधानमन्त्री केपीजी नै हुनुहुन्थ्यो । त्यसपछि शेरबहादुरजी बन्नुभयो । त्यसपछि प्रचण्डजी र फेरि केपीजी बन्नु भयो । तर, सबैको के इच्छा देखियो भने संविधान कार्यान्वयन नगर्ने, प्रहरी प्रशासन प्रदेशलाई नदिने । अब प्रहरी प्रशासन प्रदेशलाई नदिँदा खेरी अहिले प्रदेश सरकारको भूमिका शून्य छ,’– उनले भने ।
नेता राउतले आफ्नो दल संघ वा प्रदेशको सरकारमा तत्काल सहभागी नहुने बताए । उनले अहिलेको दुईतिहाइको सरकारलाई जसपा नेपालको संख्याले कुनै प्रभाव नपार्ने पनि उनले बताए । उनले जसपा नेपालले सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए । ‘हामीले यो सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै आएका छौं । हामी सरकारमा जानु नजानुले यो सरकार निर्माणमा हामीले प्रभाव पार्दैनौं,’– उनले भने ।
साथै, वर्तमान मधेश प्रदेश सरकारले नियत सफा राखेर काम गर्न नसकेको उनको आरोप छ । File Photo/RN




प्रतिक्रिया